प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा दिएको जवाफमा कति दम छ ?

संविधानविदहरु भन्छन्,– ‘प्रधानमन्त्रीको राजनीतिक जवाफ अदालतले खोजेकै होइन्,सम्वैधानिक विषय अदालतले खोजी गर्ने हो जुन जवाफ प्रधानमन्त्रीले अदालतमा पेश गरेका छन, यसले मात्र प्रतिनिधीसभा विघटनको औचित्य पुष्टि हुदैन्

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, ०८ : ५१
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा दिएको जवाफमा कति दम छ ?

काठमाडौं । असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले हिजो सर्वाेच्च अदालतमा आफ्नो तर्फबाट लिखित जवाफ पेश गरे । ‘विघटित संसद बौरिदैन । संसद विभटन भयो, नयाँ चुनाव हुन्छ –हुन्छ’ भन्दै आएका प्रधानमन्त्रीले सर्वाेच्चमा परेको रिटमा दिएको जवाफमा सम्वैधानिक होइन, राजनीतिक जवाफ पेश गरेका छन् ।

अदालतले सम्वैधानिक विषय हेर्ने भएपनि उनले राजनीतिक जवाफ दिएका हुन् । प्रधानमन्त्रीलाई असम्वैधानिक रुपमा छदाँखादाको प्रतिनिधीसभा विघटन गरेर मध्यावधी चुनावमा जाने सम्वैधानिक अधिकार छैन् । अदालतले संविधान अनुसार प्रधानमन्त्रीको कदम सही छ÷छैन् निरुपण गर्ने हो । आफुले संविधान अनुसार प्रतिनिधीसभा विघटन गरेको भए त्यसको पुष्टि पनि प्रधानमन्त्रीले सम्वैधानिक रुपमा नै गर्ने हो । तर ओलीले यसतिर कुनै मतलब गरेको देखिएको छैन् । उनले राजनीतिक रुपमा मात्र अर्थ लगाउने गरी जवाफ दिएका छन् ।

ओलीले अनेक फुलबुट्टा भरेर आफ्नो कदमलाई सही देखाउन खोजेपनि उनको यो कदम अस्थिर राजनीतिको घोतक भएको कतिपय विश्लेषकहरुको जिकिर छ । अदालतले यो अस्थिरताको घोतकलाई वैधानिकता दिए नेपालमा फेरि नयाँ नजिर रहने र कुनै पनि सरकारका प्रधानमन्त्रीले आफुलाई मन लागेका बेला संसद विघटन गरेर स्थिरताको बाटो पक्डिन नदिने अवस्था निम्तने छ ।

कानुनविदहरु भन्छन्, – ‘प्रधानमन्त्रीको यस्तो जवाफ अदालतले खोजेकै होइन् । राजनीतिक विषय अदालतले सरोकार राख्ने विषय नै होइन् । सम्वैधानिक विषय अदालतले खोजी गर्ने हो । जुन जवाफ प्रधानमन्त्रीले अदालतमा पेश गरेका छन, यसले मात्र प्रतिनिधीसभा विघटनको औचित्य पुष्टि हुदैन् ।’ प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले ‘असहयोग’ गरेका कारण राजनीतिक बाध्यता र अनिवार्यताको उपजको रुपमा प्रतिनिधीसभा विघटनको निर्णय लिनु परेको जिकिर गरेका छन् ।

‘कुनै पनि प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने रहर हुँदैन् । प्रधानमन्त्री संसद्को पनि नेता हो । विघटनको अधिकार कहिल्यै पनि रहरले प्रयोग गरिँदैन, आवश्यकताले गरिन्छ । यो राजनीतिक बाध्यता र अनिवार्यताको उपजको रूपमा रहेको हुन्छ,’ ओलीले अदालतमा दिएको लिखित जवाफमा उल्लेख छ । ओलीले प्रतिनिधीसभा विघटन नितान्त राजनीतिक विषय भएको र यस्ता राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने सम्वैधानिक अभ्यास रहेको दाबी प्रधानमन्त्रीले गरेका छन् । तर प्रतिनिधीसभा विघटन ओलीलाई अधिकार नरहेकोले यसलाई राजनीतिक विषय सँग मात्र लिन नहुने बताएका छन् । २०४७ सालको संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएपनि संविधानसभाबाट निर्मित संविधानमा यो खालको ब्यवस्था छैन् ।

नेपालको संविधान २०७२ मा ब्यवस्था गरिएको नयाँ विषय भनेकै प्रधानमन्त्रीले आफ्नो तजविजीका आधारमा प्रतिनिधीसभा विघटन गर्ने अधिकार राख्दैन् । प्रधानमन्त्रीलाई पनि दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाउने, एकपटक अविश्वास प्रस्ताव आएपछि एक वर्षसम्म फेरि अर्काे अविश्वास प्रस्ताव राख्न नपाइने जस्ता कानुनी प्रवन्ध नयाँ संविधानमा गरिएको छ । तर ओलीले पार्टीभित्र र संसदीय दलमा समेत अल्पमतमा परेपछि हठात् प्रतिनिधीसभा विघटनको बाटो रोजेका थिए । यो उनको सम्वैधानिक-असम्वैधानिक जुन हिसाबले भएपनि सत्तामा टिकीरहने दाउपेचकै कडी भएको राजनीतिक वृत्तमा चर्चा छ । संविधानविद् भीमार्जुन आचार्य प्रतिनिधीसभा विघटन प्रधानमन्त्री ओलीले अदालतमा दिएको जस्तो जवाफ राजनीतिक विषय नभई सम्वैधानिक विषय भएको बताउँछन् ।

‘यसअघिका प्रधानमन्त्रीले चारपटक संसद् विघटनको विषय अदालतमा गइसकेको छ । अदालतले त्यस विषयमा पर्याप्त सम्वैधानिक रुपमा ब्याख्या बहु गरेर आफ्नो निर्णय दिएको छ । अनि, अहिले आएर यो राजनीतिक प्रश्न कसरी भयो ? संविधानको कुन धारा प्रयोग गरेर उहाँ (प्रधानमन्त्री ओली)ले विघटन गर्नुभयो भन्ने कुरा संवैधानिक विषय हो, संविधान अनुसार नै उहाँको निर्णय सही छ-छैन हेर्नुपर्छ ’ आचार्यले सफलखबरसँग भने । उनले प्रधानमन्त्रीको कदम सम्वैधानिक अर्थमा सही नभएकोले ओलीले राजनीतिक विषय बनाउन खोजेका हुन् ।

ओलीले सर्वाेच्चमा ओलीको कदम गै¥हसम्वैधानिक भएको भन्दै संसद पूर्नस्थापना हुनुपर्ने माग सहित रिट हाल्न पुगेकाहरुको जवाफमा समेत आधारित नभएको कतिपयका तर्क छन् । उनले संसदमा झण्डै दुई तिहाईको ६४ प्रतिशत सांसदको सर्वसम्मत नेता आफु भएको र बहुमत प्राप्त सरकारले ताजा निर्वाचनमा जाऔं भनेर निर्णय गर्दा पाउने तर्क पेश गरेका छन् । आफुसँग ६४ प्रतिशत सांसदको समर्थन रहेको र अन्य सँग ३८ प्रतिशत मात्र जनमत रहेको र ३८ प्रतिशतले केही गरी पनि नयाँ सरकार बनाउन नसक्ने भएकोले संसदभित्र सरकार बनाउन सक्ने अवस्था नरहेकोले संसद विघटनको आफ्नो निर्णय संविधान अनुसार भएको तर्क पनि ओलीले गरेका छन् ।

तर उनको यो तर्क कपटीपूर्ण छ । उनले गरेको तर्क आफैमा मेल खादैंन । संसदमा उनकै दल नेकपाभित्र उनी अल्पमतमा थिए । वर्षाै सम्म संसदीय दलको बैठक समेत नबोलाई मनमौजी तरिकाबाट उनले सरकार चलाउँदै आएका थिए । आफ्नै संसदलाई आफ्नो धारणा राख्न समेत नदिई बन्धक जस्तै बनाएर उनले राखेका थिए । दलभित्रै अल्पमतमा परिसकेका प्रधानमन्त्री ओलीले अहिले आफुसँग बहुमत रहेको र सर्वसम्मत दलको नेता भएको जिकिर गर्नु नै आफैमा हाँस्यास्पद तर्क हो ।

ओलीले अनेक फुलबुट्टा भरेर आफ्नो कदमलाई सही देखाउन खोजेपनि उनको यो कदम अस्थिर राजनीतिको घोतक भएको कतिपय विश्लेषकहरुको जिकिर छ । अदालतले यो अस्थिरताको घोतकलाई वैधानिकता दिए नेपालमा फेरि नयाँ नजिर रहने र कुनै पनि सरकारका प्रधानमन्त्रीले आफुलाई मन लागेका बेला संसद विघटन गरेर स्थिरताको बाटो पक्डिन नदिने अवस्था निम्तने छ । ओलीले अदालतमा सम्वैधानिक प्रश्न छलेर राजनीतिक विषय बनाउन खोजेपनि यो विषयको सम्वैधानिक अर्थमै जवाफको खोजी सर्वाेच्चले खोजी गर्नुपर्ने संविधानविद्द आचार्यको तर्क छ ।
 

प्रतिक्रिया दिनुहोस