अघि बढ्यो कोशी करिडोरको निर्माण, ट्र्याक खोल्न सेनाले पायो जिम्मा

रासस

शनिबार, १८ पुस २०७७, १३ : ०५
अघि बढ्यो कोशी करिडोरको निर्माण, ट्र्याक खोल्न सेनाले पायो जिम्मा

काठमाडौं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ ।

सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई जिम्मेवारी दिइएको थियो । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथाङ्का सडक योजनाले जनाएको छ । 

अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्याक खुल्न बाँकी हो । खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथाङ्काबाट धोङगपासम्म १४ किमी ट्याक उत्तरबाट दक्षिण खुलेको छ । बीचको खण्ड बाँकी मात्रै बाँकी भएको योजनाले जनाएको छ । 

जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ ट्याक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली सेना साइटमा जाने तयारी गर्दैछ । निर्माणाधीन सो राजमार्गमा विभिन्न स्थानमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भएको उनले बताए । 

राजमार्ग निर्माणका क्रमम भौगोलिक कठिनाइसँगै गत वर्ष कोभिडका कारण काममा बाधा पुगेको प्रमुख श्रेष्ठले बताए । निर्माण सामग्री नपाइने र पाउँदा पनि गुणस्तरीय नपाउने समस्या रहेको छ । राजमार्गको उत्तरतर्फ कतिपय स्थानमा १२ महिनामा जम्मा चार महिना मात्रै काम गर्न सकिनेछ । हिमाली क्षेत्रमा चैत वैशाखदेखि पानी पर्ने र भदौ असोजदेखि चाडपर्व र त्यसपछि चिसोका कारण काम गर्न कठिन रहेको प्रमुख श्रेष्ठले बताए । 

सरकारले अहिलेसम्म उत्तर दक्षिण करिडोरअन्तर्गतका राजमार्ग सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन । उत्तर दक्षिण आयोजना निदेशनालयले ट्याक खोलिसक्ने कामलाई नै प्राथमिकता दिएको छ । सेनाले नियमित काम गर्दा अबको झण्डै डेढदेखि दुई वर्षमा काम गर्नसक्ने बताउँदै आएको छ । चट्टान बढी भएकाले काम गर्न बढी समय लाग्ने उनको भनाइ छ । 

सो राजमार्गको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट अघि बढ्ने हुनाले वातावरणमा ध्यान पु¥याएर मात्रै काम गर्नुपर्ने प्रमुख श्रेष्ठले जानकारी दिए। उनका अनुसार ११२ किमी सडक मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा त्यसमा काम शुरु गर्न गाह्रो थियो । गत वर्षसम्म पनि वातावरण प्रभाव मूल्याङ्क (इआइए) नभएकाले काम गर्ने वातावरण बनेको थिएन । सडक निर्माण अघि बढान खोज्दा निकुञ्जबाट अवरोध आएको थियो । 

सो करिडोरमा सडकको अधिकार क्षेत्रको ठूलो समस्या नभएको बताइएको छ । अरुण तेस्रो परियोजनाले सङ्खुवासभा जिल्लोको फाक्सीन्दादेखि अरुण तेस्रो परियोजनासम्म ३० मिटरमा मुआब्जा दिइसकेको छ । 

राजमार्ग निर्माणाधीन भए पनि ट्याक खुलेको स्थानमा सवारीसाधन चल्न थालेको योजनाले जनाएको छ । खाँदबारीबाट ८० किमी परसम्म सवारीसाधन चल्छ भने त्यसअघि ट्र्याक्टरले सामान मात्रै बोक्ने भोटखोला गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । 

प्रतिक्रिया दिनुहोस