प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको छ : पूर्वराष्ट्रपति डा. यादव

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १६ : ०२
प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको छ : पूर्वराष्ट्रपति डा. यादव

फाइल तस्विर

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् ।

बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ गईरहेको बताए ।

उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि बताए । पूर्व राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गरे ।

यादवले २०३३ सालमा विपी कोईराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्तराष्ट्रिय ध्यानपनि केन्द्रीत रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने बताए । भु–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने पनि उनकोे भनाई छ ।

पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दुरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको बताए । राष्ट्रिय शक्ति मिलेर सबै समस्याको निदान हुने भन्दै उनले मेलमिलापको नीति आजको दिनमा अझ सान्दर्भिक भएर गएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस