उधौली सकेला पर्व मनाइँदै

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, १३ : २२
उधौली सकेला पर्व मनाइँदै

फाइल तस्विर

काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमा किराँत समुदायले किराँत पर्व उधौली सकेला धुमधामसँग मनाउँदैछन् । 

याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरुको चासोक तङ्नाम देशभर मनाइँदैछ । किराँत भित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिएपनि समग्रमा उधौलीका नामले चिनिन्छ । 

किराँत समुदायले अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, पितृलाई स्मरण गर्ने र अन्नबाली खानका लागि इष्टदेवतासँग अनुमति माग्ने पर्वको रुपमा उधौली सकेला मनाइन्छ । बाली लगाउने बेला अर्थात वैशाख पूर्णिमाका दिन उभौंली अर्थात यावा पर्व मनाइने प्रचलन पनि रहेको छ ।

देशका विभिन्न ठाउँबाट काठमाडौं आई बसेका किराँत समुदायका मानिसहरुले आज ललितपुरको हात्तीवनमा रहेको किराँतकाल देखिएको ऐतिहासिक धार्मिक तिर्थस्थलमा पुगि पूजाआजा गरेर किराँत चाड विशेष रुपमा मनाएका छन् । 

उधौली पर्वलाई किराँत समुदायले प्रकृतिसँग समेत जोडदै आएका छन् । उभौलीमा खेतीपाती राम्रो होस भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकोमा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने विश्वास समेत किराँत जातिमा रहेको छ ।

किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल हात्तीवनमा विशेष रुपमा पूजाआज गरेपछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाच, सकेला लगायतका नाच नाचेर मनोरन्जन गर्छन । तर यसवर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण किराँत जातिले विशेष पूजा मात्रै गरेका छन् । अन्य संस्कृतिक कार्यक्रम नगर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस