चिनियाँ प्रतिनिधिमण्डलले दिए तिन सन्देश

पत्रपत्रिकाबाट

बुधबार, १५ पुस २०७७, ०८ : ०७
चिनियाँ प्रतिनिधिमण्डलले दिए तिन सन्देश

काठमाडौँ । चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारूढ र विपक्षी दलका नेताहरूलाई दिएको छ ।

सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा यहाँका राजनीतिक दलहरूसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेतासँगका सबै भेटमा चिनियाँ अधिकारीहरूले नेपालमा विकसित राजनीतिक अस्थिरता र नेकपामा आएको फुटबारे बढ्ता जिज्ञासा राखेको थियो ।

आइतबार काठमाडौं उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका उनीहरूले सोमबार नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, सभामुख अग्नि सापकोटा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि चिनियाँ टोलीको भेटवार्ता टुंगिएको छ ।

चिनियाँ टोलीले नेकपाका दुवै पक्ष (ओली र दाहाल–नेपाल समूह) लाई दुवैलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न सुझाव दिएको नेताहरूले कान्तिपुरलाई बताए । नेकपा (दाहाल–नेपाल समूह) का प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चिनियाँ टोलीको भ्रमणबारे पार्टीको सचिवालय बैठकमा भने हालसम्म छलफल भएको छैन ।

‘तर पनि यसलाई हामीले सामान्य सद्भावपूर्ण भ्रमणका रूपमा लिएका छौं । चिनियाँ टोलीको मुख्य चिन्ता नेपालको राजनीतिमा अस्थिरता सिर्जना हुने र राजनीतिक परिस्थिति कता जाने भन्ने नै देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘एउटा असल छिमेकीका हिसाबले नेपालको लोकतान्त्रिक उपलब्धि र राजनीतिक स्थिरतामा खलल आउन नपाओस् भन्ने कुरामै उहाँहरूको चिन्ता देखिन्छ ।’कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस