अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

शनिबार, ०३ चैत्र २०७४, ०९ : ०८
अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

सोल । दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका लागि मुन सरकारले तयारी गरेको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

सम्मेलनको तयारी समितिको पहिलो बैठकपछि इमले उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई औपचारिक रुपमा प्रस्ताव गर्ने निर्णय भएको बताउनुभयो । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरूबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ ।

उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताउनुभएको हो । यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ । परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि ती विषेश दूतले भेटका क्रममा कुराकानी गर्नु भएको बताइएको छ ।

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच बैठक भएको थियो । पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाउनुभएको थियो ।

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो छिट्टै वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ । भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा छलफल भएको थियो । यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महशुस गरिएको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस