बामदेव अहिलेसम्म किन बसे तटस्थ ?

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ०९ : १८
बामदेव अहिलेसम्म किन बसे तटस्थ ?

काठमाडौं । राजनीतिमा तटस्थता बस्नु भनेकै अवसरवाद हो । नेकपाका उपाध्यक्ष बामदेव गौतमको भूमिका अहिले त्यस्तै देखिएको छ । नेकपा प्रधानमन्त्री केपी ओलीको एक पछि अर्काे गलत निर्णयका कारण दुई टुक्रा भइसकेको छ । नेकपाभित्रको विवादमा झण्डै वर्ष दिनभन्दा बढी समय उपाध्यक्ष गौतमकै व्यवहार पनि निमित्त कारण बनेको थियो ।

प्रतिनिधिसभा चुनावमा हारेपछि ५ वर्ष कुर्न नसकेर उनले संसद छिर्ने र प्रधानमन्त्री पडकाउने महत्वांकाक्षा पाले । त्यसका लागि वैद्य÷अवैद्य जुनकुनै बाटो पनि उनले समात्न खोजे । जसकाकारण नेकपाको कोर अफ दि लिडरसिप भनिएको ९ जनाको सचिवालय धेरैजसो समय बामदेवलाई अब के ? बामदेवको अबको भूमिका के ? बामदेवको पक्षधरता कता ? भन्नेमै रुमल्लिरहेको छ ।

सुरुमा प्रधानमन्त्री केपी ओलीका विरुद्ध फायर खोल्ने, विवाद उत्र्कषमा पुग्दै गर्दा आफैले खोलेको फायरमा समेत टिक्न नसक्ने उनको द्वैध चरित्रका कारण नेकपामा लामो समय राजनीति बामदेवकै वरिपरि मात्रै घुम्यो । उनले प्रतिनिधिसभा प्रवेश गर्ने झण्डै २२ पटक प्रयास गरे । कहिले कताका निर्वाचित सांसदलाई फकाउने, राजीनामा गर्न लगाउने र उपचुनावमार्फत प्रतिनिधिसभा प्रवेश गरेर प्रधानमन्त्री पड्काउने योजनाभित्रै उनी घुमिरहे ।

त्यो प्रयास सफल भएन । त्यसपछि उनको राष्ट्रिय सभा प्रवेशको बाटो खुल्यो । राष्ट्रिय सभामा पनि उनले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्न पाउने गरी बाटो खुला गर्न चाहे । उनी एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने प्रयासमा पनि नेकपा लाग्यो । त्यसका लागि सचिवालयले नेता माधव नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल समेत निर्माण गर्यो ।

तर पार्टीभित्रकै विरोधका कारण नेकपाले एक साता नबित्दै गुपचुप राखिएको त्यो निर्णय सच्चाउन बाध्य भयो । अन्ततः अहिले गौतम राष्ट्रिय सभाका सदस्य छन् । तर उनले सोचेजस्तो त्यहाँबाट प्रधानमन्त्री बन्ने वाटो भने खुल्ला छैन । उनकै पेरिफेरिमा पनि घुमिरहेको नेकपाले अन्ततः प्रधानमन्त्री केपी ओलीको सनकमा भएको प्रतिनिधिसभा विघटनको निर्णयका कारण विभाजन भोग्नु पर्यो ।

खासगरी गौतम, रामबहादुर थापालगायतका नेताको द्वैध चरित्र र भूमिका खुलाउन नसक्दा नेकपामा दुई अध्यक्षका बीचमा तानातान हुने र दुबैले त्यसैमा रमाइरहने खेल खेलेपछि नेकपाको आन्तरिक राजनीतिमा अस्थिरताको जग बसेको कतिपयको बुझाइ देखिन्छ ।

पार्टी दुई टुक्रा बनिसकेको छ । नेताहरु कित्ताकाट छन् । आआफनो समूहमा तल्लै तहसम्म नेता कार्यकर्ता धुब्रीकरण हुँदै गइरहेको छ । निर्वाचन आयोगदेखि अदालतसम्म वैधानिकताका लागि दुबै पक्ष पुग्ने क्रम बढेको छ । तर कोर अफ द लिडरसिप भनिएका ९ नेतामध्येका एक मात्र नेता बामदेवले अहिलेसम्म कित्ता खुलाएका छैनन् ।

ओलीको कदमलाई विज्ञप्ति नै जारी गरेर असंवैधानिक घोषणा गरेका बामदेव त्यही असंवैधानिक भनेर सडक आन्दोलनमै उत्रिसकेको प्रचण्ड र माधव नेपाल समूहमा पनि खुल्न सकेका छैनन् । ओली समूहतिर पनि लाग्न सकेका छैनन् । उनी माथि अहिले तराजुमा कता लाग्दा फाइदा हुन्छ भनेर जोखिरहेको आरोप लाग्न थालेको छ ।

उनी एक्ला पात्र छन्, जो अहिलेसम्म पनि केन्द्रीय तहका शीर्ष नेतामा कित्ता प्रष्ट नपारी बसेका नेता हुन् । उनले भन्नलाई अझै पनि पार्टी एकता गर्न सकिन्छ की भनेर आफू प्रयासमा रहेकाले कुनै समूहमा नखुलिसकेको बताइरहेका छन् । तर उनको यो तर्कमा अब दम छैन ।

‘पार्टी विभाजित भएर धेरै टाढा पुगिसकेको छ । तर उनको अझै एकताको प्रयास भन्ने कुरा सुन्दा अचम्मै लाग्छ, समय धेरै अगाडि बढिसक्यो, तर उहाँ अझै जोखना हेरिरहनु भएको छ,’ ओली निकटका एक स्थायी समिति सदस्यले सफल खबरसँग भने, ‘उहाँले मौका खोजिरहनु भएको छ, कता लाग्दा आफूलाई फाइदा हुन्छ भनेर जोखना हेरिरहनु भएको छ ।’

आइतबार उनले नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल र प्रवक्ता नारायणकाजीसँगै खुमलटारमा भेट गरे । तर उनले अझै कित्ता प्रष्टाएनन् । ‘प्रधानमन्त्रीको कदमको म विरोधमै छु’, उनले खुमलटार पुगेर भने, ‘तर अझै एकताको डोरी जोड्न सकिन्छ कि भनेर नै मेरो मेहनत कायमै छ ।’

उनी र उनी निकटका नेता हरि पराजुलीमात्रै अहिले कुनै कित्तामा खुलेका छैनन् । नेकपाको दुवै पक्षले उनीहरुलाई तानातानको प्रयास जारी राखेको छ । ओलीले गौतमकी पत्नी तुलसी थापालाई केन्द्रीय सदस्य पनि बनाएका छन् । तर, गौतम पत्नी पनि बालुवाटारको बैठक र भेलामा पुगेकी छैनन् ।

उनीहरुले अदालतले कुन नेकपालाई बैधता दिन्छ, त्यसपछि मात्रै जसलाई वैधानिकता दिन्छ, उतैतिर आफनो कित्ता खुलाउने गरी जोखना हेरिबसेको अर्थमा बझुनेहरु अहिले धेरै छन् । गौतमले पनि उनी निकट रहेका कतिपय नेता कार्यकर्तालाई त्यही बताउने गरेका छन् । उनी हेभिवेट नेता भएकोले अदालतको निर्णय पछि जता लाग्दा पनि उनको राजनीतिक कदमा कुनै घाटा नहोला, जिम्मेवारी सोही खालको पाउलान्, तर सामान्य नेता कार्यकर्ताले समयमै कित्ता स्पष्ट नपार्दा राजनीतिमा पछि पर्ने सम्भावना अधिक छ ।

 

प्रतिक्रिया दिनुहोस