प्रबुद्ध नागरिकको भेला : संसद विघटन गैरसंवैधानिक, प्रतिरोधमा उत्रन आह्वान

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, २१ : ०५
प्रबुद्ध नागरिकको भेला : संसद विघटन गैरसंवैधानिक, प्रतिरोधमा उत्रन आह्वान

काठमाडौँ । बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकहरुको काठमाडौँमा आयोजित भेलाले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगठनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रबुद्ध नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलीभगतमा गरिएको संसद विघटनको भर्त्सना समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘कोरोना विश्वव्याधीले उत्पन्न गरेको जनस्वास्थ्य संकट तथा सरकारको समेत नालायकीका कारण व्यापार, व्यवसाय, कृषि, उद्यम सबैतिर पर्न गएको प्रतिकुल असर तथा जनताले दैनन्दिन जीवनमा भोगिरहेको अत्यन्त असहज परिस्थितिको सामना गर्न उद्यत हुनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेको यो गैरसंवैधानिक कदम भत्सर्नायोग्य मात्र होइन, अमानवीय पनि छ ।’

लामो संघर्षपछि प्राप्त नागरिक अधिकार, राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको मूल्य मान्यतामा संविधानको प्रतिपालन र रक्षा गर्नुपर्नेहरुबाटै प्रहार भएको भन्दै उनीहरुले आन्दोलित हुनुपर्ने अवस्था आएको बताएका छन् । कुनै राजनीतिक दलको आन्तरिक खिचातानी वा शक्ति संघर्षप्रति आफूहरुको प्रत्यक्ष चासो नरहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस