भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, १६ : ३३
भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको बताइन् । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई गैर आवासीय नेपाली सङ्घले रक्त सङ्कलन गर्न घुम्ती बस सहयोग हस्तान्रण कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुरमा एक पछि अर्को पूर्वाधारको काम भइरहेको बताइन् ।

कार्यक्रममा केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार भन्सार र कर छुटबाहेक भारतीय रु ३५ लाखमा सङ्घले बस खरिद गरेको हो । रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको बस वाग्मती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उनले जानकारी दिए ।

बसभित्र रक्तदान गर्ने, प्रेसर नप्ने र रक्त सङ्कलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भएसँगै बसभित्रै घुम्ती रक्तदानका कार्यक्रम गर्न सहज हुनेछ । सङ्घले पूर्वी चितवनको रत्ननगरमा अन्तरराष्ट्रियस्तरको राष्ट्रिय रक्तसञ्चार केन्द्र बनाउन प्रस्ताव गरेको पौडेलले जानकारी दिए। अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको छ । उनले भने, ‘मागअनुसार पूरा गर्न सकेका छैनौँ । दैनिक ५० युनिट रगत पु¥याउन पनि कठिन परेको छ ।”

पहिलेको तुलनामा केही रक्तदानका कार्यक्रम भए पनि यसले पर्याप्त नहुने उनको भनाइ छ । बिरामीका आफन्त, स्वयंसेवी रक्तदाताको भरमा चलिरहेको उनले बताए। उनले भने “अहिले रगतको अभाव हुने समय नभए पनि कोरोना सङ्क्रमण त्रासले रक्तदान हुन नसकेको हो ।” पछिल्ला दिनमा दुर्घटना कम भएको भए पनि अस्पतालमा उपचारका लागि आउने बिरामी बढेसँगै रगतको माग बढेको छ । 

कार्यक्रममा गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष बद्री केसी, सचिब आर के शर्मा,सह कोशाध्यक्ष लोकप्रसाद दाहाल , उवासंघका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघका अध्यक्ष राजु पौडेललगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा भरतपुर उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस