‘आईएमई भरोसा कोष’ को रकम वितरण

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, १६ : ३०
‘आईएमई भरोसा कोष’ को रकम वितरण

काठमाडौँ । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । 

शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण कार्य शुरु गरेका हुन् । 

मृतकका परिवारमध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ । आज सहयोग रकम पाउनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु हुनुभएका ५ जनाको परिवार र बहराइन एक जना र कतारमा मृत्यु हुनुभएका एक जनाको परिवार छन् । सबैले प्रतिपरिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम पाएका छन् । 

चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताए । आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथी पनि भएको अध्यक्ष ढकालले बताए ।

आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गतेसम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्तभित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ । 

प्रतिक्रिया दिनुहोस