२ नं प्रदेशमा मधेश सरकारमा जोड

आइतबार, १० मंसिर २०७४, १२ : ४९
२ नं प्रदेशमा मधेश सरकारमा जोड

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद, असामानता तथा भेदभाव अन्त्य नभएसम्म तराई– मधेसको विकास हुन नसक्ने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज रासससँग कुरा गर्दै उहाँले विकास निर्माणबाट सप्तरी जिल्ला हरेक क्षेत्रमा पछाडि परेको र यहाँको विकास नहुनुमा शदियौँदेखि विभेद र असमानता कारण भएको बताउनुभयो ।

“सप्तरी जिल्ला नेपालको तेस्रो पछाडि परेको जिल्ला हो, यहाँ खेतीबाहेक केही नभएका कारण अधिकांश युवा अहिले बेरोजगारीको चपेटामा छन्”, उहाँले भन्नुभयो ।

सप्तरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले सप्तरीको विकास र बेरोजगारी समस्या समाधानका लागि आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दुई तिहाइ मतबाट प्रदेश नं २ मा मधेस सरकार निर्माण गर्न सकेमा प्रहरी प्रशासन, लोकसेवा र शिक्षक सेवामा मधेसीको अधिकार सुनिश्चित हुने बताउनुभयो ।

सप्तरीसहित तराई–मधेसका जिल्लामा नदीनाला भए पनि खेतीका समयमा सिँचाइ नभएका कारण कृषि क्षेत्रको समेत विकास हुन नसकेको बताउँदै उहाँले वर्षेनी विभिन्न नदी र नालामा आएको बाढी तथा पहिराका कारण खेतको उर्वाराशक्ति कमजोर हुने गरेको र बाढीपहिराले जमिन कटान गरेपछि अधिकांश खेतमा उब्जाउ हुन नसकेको बताउनुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस