नेपाल वायु सेवाको १० वर्षको योजना : १२ जहाज ल्याउने, चार वर्षभित्रमा नाफामा लैजाने

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १७ : २९
नेपाल वायु सेवाको १० वर्षको योजना : १२ जहाज ल्याउने, चार वर्षभित्रमा नाफामा लैजाने

काठमाडौँ । नेपाल वायु सेवा निगमले १२ वटा जहाज ल्याउने तयारी थालेको छ । निगमले आफ्नो १० वर्षको योजनामा १२ जहाज थप्ने जनाएको छ ।  १० वर्षभित्र ४ वटा न्यारोबडी, २ वटा वाइडबडी,  सुगममा उडाउने जहाज २  र छोटा धावन मार्गमा उडाउने ४ जहाज गरी १२ वटा जहाज ल्याउने लक्ष्यसहितको १० वर्षे योजना निगमले सार्वजनिक गरेको छ । 

निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले निगमको १० वर्षे कार्यायोजना सञ्चालक समितिले पास गरेको बताए । यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्य पनि विस्तार गरिने योजना छ । सञ्चालक समितिबाट पास भएको योजना संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पास भएपछि कार्यान्वयनको बाटो खुल्नेछ । यद्यपि बजेट निकासा अर्थमन्त्रालयबाट हुने भएकाले सो मन्त्रालयको समेत स्वीकृति पछि कार्यान्वयनमा जान सक्नेछ । 

निकट भविष्यमा अष्ट्रेलिया, इन्डोनेसिया, लण्डन, साउदी अरेविया, दक्षिण कोरिया, जर्मनीलगायतका रुटसम्म नेपाल एयरलाइन्सको जहाज उडाउने योजना छ ।  निगमले व्यावसायिक योजनाको पहिलो चार वर्षसम्मसरकारकै भर पर्नेछ । त्यसपछि विस्तारै निगमले सरकारको पैसा फिर्ता गर्दै लैजाने व्यावसायिक योजना छ । चार वर्षपछि निगमलाई नाफा लैजाने योजना छ । 
 

प्रतिक्रिया दिनुहोस