बंगुरपालनमा जमेका जनप्रतिनिधि भन्छन्– हरेक जनप्रतिनिधिले कुनै उद्यम गरौँ

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०७७, १६ : ४४
बंगुरपालनमा जमेका जनप्रतिनिधि भन्छन्– हरेक जनप्रतिनिधिले कुनै उद्यम गरौँ

चितवन । जनप्रतिनिधि कि उद्यमी कुनै एउटा रोज्नुपरेमा ? ‘यतिबेला म दुबै रोज्छु, जतिबेला जनप्रतिनिधि थिइन्, उद्यमीमात्र थिएँ । त्यतिबेला उद्यम रोजाइमा थियो, अहिले दुबै ठाउँमा छु । दुबै रोज्छु ।’ 

चितवनका जनप्रतिनिधि नरेन्द्रकुमार कन्दङ्वाले यसो भनिरहँदा कराइरहेका बंगुरका पाठाहरुलाई दाना खुवाउँदै थिए । उनी गुनासिए ‘आज बंगुरहरु भोकाएका छन्, दाना खुवाउन थोरै ढिला भयो ।’ जनप्रतिनिधिको काम गाह्रो कि, उद्यमीको काम गाह्रो ? ‘दुबै काम ढुंगाको काप फोर्नुजस्तै हो, तर पीपल ढुंगाको काप फोरेर उम्रन्छ, हुक्रन्छ र हरियो हुन्छ ।’

भरतपुर महानगरपालिका वडा नं १२ का वडाध्यक्ष नरेन्द्रकुमार कन्दङ्वालाई चितवनबाहेक बाहिरी जिल्लाका नागरिकले जनप्रतिनिधि भनेर कमैले चिन्छन् । उनको परिचय त बंगुर व्यवसायी बनेको छ । कन्दङ्वा भन्छन्, ‘झापादेखि नेपालगञ्ज, पोखरादेखि काठमाडौँसम्मका जनता बंगु्रका पाठा किन्न आउँछन्, उनीहरुले जनप्रतिनिधिभन्दा पनि बंगुरको उद्यमी भनेर बढी चिन्छन् । 

यतिबेला उनको परिचय जनप्रतिनिधिमा मात्र सीमित छैन, उनले आफ्नो परिचय सफल उद्यमको रुपमा पनि चिनाएका छन् । ‘जिल्लावासीले बढीमात्रामा वडाध्यक्ष भन्छन्, तर अन्य जिल्लाका मानिसहरुले बंगुर पालक भनेर चिन्छन् ।’ भरतपुर–६ देवनगरमा छ उनको बंगुर फार्म । फार्ममा रहेका झन्डै ५०० बंगुरलाई हुर्काउन व्यस्त छन् उनी । उनीमात्र होइन, १३ जना कर्मचारी नै बंगुरको रेखदेखमा खटिन्छन् ।

वडाध्यक्ष कन्दङ्वालाई बंगुरपालनमा छोराछोरीले मात्र होइन, उनको जीवनसंगीनी रेनुका पुन कन्दङ्वाले हरहमेसा साथ दिएका छन्, तब त उनी सफल छन् । दिनरात बंगुरपालनमा खटिएर जनताको काममा कुनै कमी गरेका छैनन् उनले । भन्छन्, ‘बिहान १० देखि ५ बजेसम्म त म जनताको काममा खटिन्छु, बाँकी समय बंगुर फार्मलाई दिन्छु । दुबैबाट सन्तुष्ट छु, खुसी छ । 

२०४९ सालबाट चितवन 

कन्दङ्गवा २०४९ सालमा तेह्रथुमबाट चितवन झरेका हुन् । चितवन झरेपछि कन्दङ्वाले चितवनलाई नै कर्मथलो बनाए । चितवन आएर केही समय शिक्षण पेसामा समेत बिताएका उनै कन्दङ्वा अहिले सफल उद्यमी बनेका छन् । शिक्षण पेसासँगै उनी तत्कालीन नेकपा एमालेबाट चितवनमा राजनीति पनि सुरु गरे । राजनीतिले उनलाई अहिले वडाको प्रमुख बनाएको छ । 

स्थानीय तहमा निर्वाचित भइसकेपछि भने जनताको सेवामा बढी समय दिनुपर्ने भएकोले साँझ–बिहानमात्रै फार्ममा पुग्ने गरेका उनी बताउँछन् । दिनभर कर्मचारीले फार्मको रेखदेख गर्दै आएका छन् । यसबाहेक घरका सदस्यहरु हरबखत बंगुरपालमा रमाएका छन् । 

‘बिहान १० देखि ४ बजेसम्म मेरो ध्यान वडातिरै हुन्छ, जनताको गुनासो सुनेर जान्छ, उनीहरुको हरेक समस्या समाधान गर्दैमा बित्छ ’, उनी भन्छन्, ‘त्यसपछिको समय मेरो फार्ममै बित्छ ।’ कार्यालय समयमा बंगुरको विषयमा फोन आए पनि चार बजेपछि भनेर फोन राखिदिन्छन् उनी । ‘मेरो काम गर्ने तरिका नै अल्लि फरक छ’, उनी भन्छन्, ‘कुन समयमा कुन काम गर्ने भन्ने मैले तालिका नै बनाएको छु, सोहीअनुसार काम गर्छु ।’

३० हजारबाट सुरु

चितवन झरेर छ वर्ष शिक्षण पेसामा रमाए उनी । कुनै न कुनै उद्यम गर्नुपर्छ भन्ने सोच उनमा बचपनदेखि नै थियो । चितवनमा धेरैले कुखुरापालन गरेको उनले देखेका थिए । धेरैले उनलाई कुखुरापालन गर्न सुझाव दिए । तर उनी अलिकति फरक काम नौलो तरिकाले गर्न रुची राख्थे । 

आफ्नै घर भरतपुर १२ मा उनले बंगुरपालन सुरु गरे । कति रुपैयाँबाट सुरु गरे त बंगुरपालन ? ‘मैले पैसा भएर यो पेसा रोजेको होइन, शिक्षण पेसाले परिवार पाल्न पनि मुस्किल पर्नेबेला थियो, मैसँग बंगुरपालनको लागि पैसा नै थिएन’, उनी भन्छन्, ‘२०५५ सालमा ३० हजारबाट बंगुरपालन सुरु गरेँ, पहिलो वर्ष नै दुई लाख रूपैयाँ घाटा भयो । बैंकबाट ऋण लिएर तिरें । पछि जीवनसंगीनीलगायत परिवारबाट यो पेसा नगरौँ भनेर धेरै दबाब आयो, तर मैले जे हुन्छ हुन्छ भनेर यसैलाई निरन्तरता दिएँ । अहिले मेरो जे छ यसैमा छ, आज परिवार पनि खुसी नै छ । अहिले भरतपुर ६ देवनगरमा तीन बिघा जग्गा जोडेको छु, आफ्नै जग्गामा देशकै ठूलो बंगुरपालन गर्न पाउँदा हर्षित भएको छु ।’

सुरुमा भरतपुर १२ आफ्नै घरबाट सुरु गरेको बंगुरपालन भरतपुर ११ हुँदै अहिले भरतपुर ६ मा पुगेको छ । भरतपुरमा बस्ती बाक्लो हुँदै गएपछि फार्म सारेका हुन् उनले । तीन बिघा जग्गा लिएर भरतपुर ६ देवनगरमा फार्म सारेपछि उनले यो पेसामा छलाङ नै मारेका हुन् । अहिले उनी करौडौँ सम्पत्तिको मालिक बनेका छन् । 

२४ लाख घाटा सहनुपर्दा...

कन्दङ्वाको फार्म २०६१\६२ सालमा भरतपुर ११ मा थियो । जतिबेला असाध्यै नेपाल बन्द हुन्थ्यो । देशमा द्वन्द्वकालको अवस्था थियो । त्यो वर्ष उनलाई २४ लाख घाटा भएको थियो । उनी विगतलाई सम्झदै भन्छन्, ‘अहो, त्यो बेला त म पूरा डुबेको, बैंकले पत्याइदियो, परिवारले साथ दियो, इष्टमित्रले सहयोग गरेँ, म उठेँ, त्यसपछि कहिल्यै पछाडि फर्कनु परेको छैन ।’

यतिबेला खर्च कटाएर मासिक डेढदेखि दुई लाखसम्म उनले आम्दानी गर्न सकेको बताउँछन् । भन्छन्, ‘मैले बुंगुर बजारमा दिनै सकेको छैन, माग थेग्न सकेको नै छैन, कति हो, कति माग छ । अहिले एक बिघामा फार्म फैलिएको छ, अब तीन बिघामा नै फार्म फैलाउँछु । अहिले पाँच सयको हाराहारीमा बंगुर छ, एक हजार बनाउँछु ।’

उनको पाथीभरा बंगुर फार्म तथा दाना उत्पादन केन्द्रमा हाल मासिक ८ देखि ९ लाख रूपैयाँ खर्च हुन्छ । तीन लाख त मासिक कर्मचारीको तलबमा जान्छ । दानापानीमा खर्च हुन्छ । उनले सबै कर्मचारीको सञ्चयकोषको व्यवस्था गरेका छन् । हरेक वर्ष खर्च कटाएर १८ लाख रूपैयाँसम्म सजिलै कमाइ भइरहेको उनी बताउँछन् ।  

हरेक जनप्रतिनिधि उद्यमी बनौँ

कन्दङ्वा हरेक जनप्रतिनिधिलाई उद्यमी बन्न सुझाव दिन्छन् । भन्छन्, ‘अब जनप्रतिनिधि आफूमात्र बनेर हुँदैन, देश बनाउन लाग्नुपर्छ । त्यसको लागि हरेक जनप्रतिनिधिले कुनै न कुनै उद्यम चलाउनुपर्छ, एक जनप्रतिनिधि, एक उद्यमको रुपमा अघि बढ्न सक्यौँ भने धेरै युवा विदेश जानबाट रोकिन्छन् र देश अगाडि बढ्छ ।’

उनले थपे, ‘मैले बंगुरपालन गरेको छु, हाल १३ जनालाई रोजगार दिएको छु, १३ सयलाई रोजगार दिने गरी काम गरेको छु । अर्को जनप्रतिनिधिले बाख्रापालन गरौँ, कोहीले कुखुरापालन गरौँ । कोहीले अरु कुनै, जे गरे पनि हुन्छ, तर मिहिनेतका साथ गरौँ । त्यसो गरेमा देश बन्न समय लाग्दैन, नेपाली दाजुभाई खाडीमा गएर तातो हावा खानुपर्दैन ।’ 

उनले युवाहरुलाई बंगुरपालनको तालिमदेखि आर्थिक सहायतासम्म गरेको बताए । उनले भने, ‘मैले धेरै युवालाई विदेश जानबाट रोकेको छु, सयौँ युवाहरुले मेरोजस्तै बंगुरपालन गरेका छन् । मैले तालिम दिएका युवाहरुले अहिले चितवनमा मात्र होइन, नेपालगञ्ज, विराटनगर, काठमाडौँमा बंगुरपालन गरिरहेका छन् । कोही आउँछन् भने म यो पेसामा खुलेर लाग्न सल्लाह दिन्छु । हरहमेसा साथ र सहयोग गर्छु ।’


 

प्रतिक्रिया दिनुहोस