बारको निर्वाचन भोलि, बिहान ८ बजेदेखि मतदान

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०८१, १५ : २४
बारको निर्वाचन भोलि, बिहान ८ बजेदेखि मतदान

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुनेछ । मतदानका लागि रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसर गरी दुई ठाउँमा ३६ मतदान केन्द्र तोकिएको छ ।

मतदानमा सर्वोच्च, उच्च, विशेष र जिल्ला बार एसोसिएसन एवं कानुन व्यवसायीसहित ९ हजार ९९७ मतदाता सहभागी हुँदैछन् । मतदानमा सहभागी हुनका लागि अनिवार्य रूपमा कानुन व्यवसायी परिषद्‌बाट जारी गरिएको परिचयपत्र वा कानुन व्यवसायीको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रमध्ये एक सक्कलै लिई उपस्थित हुन बार एसोसिएसनले आग्रह गरेको छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय ३ वर्षीय पदाधिकारीका लागि निर्वाचनमा सत्ता पक्षीय नेकपा एमाले निकट पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र नेपाली काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको छ । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।

सत्ता पक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्राडा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमाले निकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।

यस्तै प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक कानुन व्यवसायी सङ्गठन (आरपीएलए) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको छ ।

जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपा निकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् ।

जसलाई नेकपा एसलगायतका दल निकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस