भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, १६ : १५
भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा

फाइल फोटो

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक उर्जा प्रदान गरेको सुरक्षाविज्ञ उमेश भट्टराईले बताउएका छन् ।

संवादहीनताको अवस्थामा रहेको कुटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षा विज्ञ भट्टराईले बताए । शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सुरक्षा विज्ञ भट्टराईले नरवणेको भ्रमणले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई केही हदसम्म भएपनि गतिशिल बनाउने विश्वास जगाएको बताएका हुन् । 

सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भएपनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कुटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले सकारात्मक रुपमा लिनुपर्ने बताउँदै उनले भने, ‘मुख्य गरेर संवाद हिनताको अवस्थामा रहेको हाम्रो कुटनीतिलाई यसले केही हदसम्म अवस्थालाई चिर्नेकाम गर्छकी भन्ने हाम्रो अनुमान र विश्वास जगाउँछ नै । किनभने जुन किसिमले प्रधानमन्त्रीले पनि हिजो वार्ता गर्दाखेरी कुरा गर्नुभयो हाम्रो सम्बन्ध इतिहास देखिको भिन्दै किसिमको हो र एउटा सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले हामी दुई देशको बीचको सम्बन्धलाई बढाउन चाहन्छौं । यसमा एकवर्षदेखि रोकिएको प्रकृया छ । त्यो कुटनीकिक पहलबाट यसको सुरुवात होस भन्ने किसिमको सन्देश दिनु भएको छ भारतीय संस्थापनलाई वा भारतको सरकारलाई । त्यसले सकारात्मक भुमिका नै खेल्छ भन्ने लाग्छ ।’

दुई देशबीचको सेनाको सम्बन्ध व्रिटिस आर्मी रहदा देखिकै भएकोलेपनि सैन्य कुटनीतिलाई भिन्दै किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए । कुटनीति सैन्य भएपनि वा गैह्र सैन्य भएपनि अन्ततोगत्वा मुलुुकलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाई छ । 

उनले भने, ‘सेनाको सम्बन्धको कुरा व्रिटिस आर्मीको बेला देखिकै निरन्तरता हो । यसमा भिन्दै किसिमले कुटनीति, सैन्य कुटनीतिको व्याख्या कतिपयले गरेको मैले नी सुनेको छु । तर यो होइन । कुटनीति भनेको कुटनीति नै हो । त्यो सैन्य होस वा गैह्र सैनिक होस । त्यसले अन्ततगत्व मुलुकलाई एक किसिमको निकास दिनको निम्ति मद्दत गर्ने हो । त्यो हिसाबले हे¥यो भने सैन्य कुटनीतिलाई छुट्टै मान्नु आवश्यक छैन ।’

इतिहासदेखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कुटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले बताए । तर स्वतन्त्र मुलुकको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कुटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस