पर्यटकका लागि बस सेवा सुरु

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, १५ : ३४
पर्यटकका लागि बस सेवा सुरु

सांकेतिक तस्विर

काठमाडौँ । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच आजबाट पर्यटकका लागि बस सेवा सुरु गरेको छ । 

देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले शनिबारदेखि सेवा सुरु गरेको हो । देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री बस सेवा दिने काम सुरु गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बताए । 

देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उनले बताए । काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–विरगञ्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गुरागाईंले व्यक्त गरे । उनले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने पनि बताए ।

कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ । देशदर्शनले शुभारम्भको एक साता सम्म काठमाडौँदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ  ।

प्रतिक्रिया दिनुहोस