पर्सामा दलले व्यापकरुपमा आचारसंहिता उल्लंघन गरेका छन् : मुख्य निर्वाचन अधिकृत

शनिबार, ०९ मंसिर २०७४, १८ : २५
पर्सामा दलले व्यापकरुपमा आचारसंहिता उल्लंघन गरेका छन् : मुख्य निर्वाचन अधिकृत

 


पर्सा । पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा दल र उम्मेदवारले आचारसंहिताको व्यापक उल्लंघन गरिरहेको स्वीकार गर्नुभएको छ ।
       
    जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगञ्जमा आयोजना गरेको निर्वाचन आचारसंहिता र सञ्चार प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कर्णले पर्सामा व्यापकरुपमा निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको स्वीकार गर्नुभएको हो ।

    “पर्सामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ, उल्लंघन गर्नेमा राजनीतिक दल र तीनका उम्मेदवार बढी छन्”– उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहिता उल्लंघनका बारेमा अनुगमन गर्न टोली खटिरहेका छन्, म आफैँ पनि खटिएको छु ।”
       
    दल र उम्मेदवारले आचारसंहिताविपरीत सार्वजनिक स्थल, विद्युत्का पोल, पर्खाललगायतका स्थानमा चुनावी प्रसारप्रसारका लागि ब्यानर, झण्डा, पर्चा पम्प्लेट राखेको भेटिएको भन्दै उहाँले त्यस्ता चुनावी प्रचारका सामग्री अनुगमन टोलीले हटाए पनि दल र उम्मेदवारले फेरि त्यही स्थानमा आफ्ना झण्डा, ब्यानर र पर्चा पम्प्लेट राख्ने गरेको बताउनुभयो ।
       
    निर्वाचन आचारसंहिता राजनीतिक दल र उम्मेदवारलाई मात्र नभई कर्मचारी, पत्रकार र व्यक्तिको हकमा पनि लागू हुने भन्दै मुख्य निर्वाचन अधिकृत कर्णले निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण गर्दा सञ्चारकर्मीले पनि हतार गर्न नहुने बताउनुभयो ।
       
    जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका  प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पर्सामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको बताउनुभयो । चुनावका बेला सञ्चारकर्मीले पनि संवेदनशील भएर सूचना संकलन र प्रसारण गर्नुपर्ने उहाँको सुझाव थियो ।(रासस)
 

 

प्रतिक्रिया दिनुहोस