काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गर्नुभयो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उहाँ यहाँ आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नै आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभयो । भारतीय सेनाध्यक्षले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिेलरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई बिहीबार हस्तान्तरण गर्नुभएको थियो । उहाँले बुधबार वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गर्नुभएको थियो ।
नेपाल र भारतीय सेनाबीच एकार्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ ।
सम्बन्ध सुदृढ गर्न भ्रमण फलदायी
समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच आपसी सुरक्षा चासोका विषयमा भएको खुला छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालीमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जाने विषयमा गहन विचारविमर्श भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले आजै शिष्टाचार भेट गर्नुभएको थियो । यसअघि सेनाध्यक्ष नरवणेले आजै शिवपुरीस्थित सैनिक कमाण्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाउँदै अन्तरक्रिया गर्नाका साथै हवाइजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गर्नुभएको थियो । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको दुवै सेनापतिले विश्वास व्यक्त गर्नुभएको छ ।
–––
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ कार्तिक २०७७, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी