काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा ३५ सय बिरुवाको स्याउ रोपेर उद्घाटन गरिएको हो ।
स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने विप्लवको तर्क थियो । उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रान्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको समेत बताए ।
विप्लवले हावापानी र मौसमअनुसारको फलफूल बालीनाली उत्पादन गरिरहेको बताउँदै भने– ‘अहिले हाम्रा नेता कार्यकर्तालाई देशैभर खानकै लागि कहिँ कतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौँ ।
महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउँपालिका ७ धांचुगाउँकि कृष्ण कौडा शाहीलाई धन्यवाद समेत दिए । उनले भने– ‘उहाँ शहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनुभयो, विशेष धन्यवाद छ ।’
धौलापानीमा स्याउ रोपेर भोलि १२ गते बिहान कालिकोटको तिलागुफा नगरपालिका फोहिईमा स्याउ रोप्न जाने कार्यक्रम रहेको विप्लवका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १६ : ४६
लेखकबाट थप