चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई आइतबार एक करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई एक करोड ५० लाख रूपयाँको एकाउण्टपेयी चेक हस्तान्तरण गरेकी हुन् ।
भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ र अहिले दोस्रो चरणमा एक करोड ५० लाख रुपैयाँ प्रदान गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन् । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताइन् ।
महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन् ।
फाउण्डेसनका अध्यक्ष कट्टेलले एक करोड ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।
यसअघि असोज १३ गते भरतपुर महानगरले रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । उनका अनुसार महानगरबाट पछिल्लो तीन हप्तामा फाउण्डेसनलाई दुई करोड रुपैयाँ निकासा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०७७, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका