सप्तरी । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आईतबार बिहान सार्वजनिक गरेको छ । उनीहरु काका र ठूलो बुवाका छोराहरु हुन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् ।
मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको स्वीकारेका छन् ।
भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ कार्तिक २०७७, ११ : ३६
लेखकबाट थप