काठमाडौँ । सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । असोज २२ मा बसेको मन्त्रिपरिषद् बैठकले मदिरा आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । कोभिड–१९ का कारण लकडाउन गरिएसँगै विदेशी मुद्रा सञ्चितिमा असर पर्ने भन्दै सरकारले मदिरासहित ५० लाखभन्दा बढी मूल्यका सवारी साधन आयातमा प्रतिबन्ध लगाएको थियो ।
गत वर्ष चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले विदेशी मदिरासहित महँगा सवारी, छोकडा र मरिच आयातमा पनि प्रतिबन्ध लगाएको थियो । नेपालमा बढी आयात हुने वस्तुमध्ये मदिरा पर्छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र७५ मा ९० करोड मूल्य बराबरको ५४ हजार लिटरभन्दा बढी विदेशी मदिरा नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब १४ करोड बराबरको मदिरा भित्रिएको थियो । गत आर्थिक वर्षमा ८८ करोड बराबरको विदेशी मदिरा आएको थियो ।
दसैं नजिकिँदा देशभित्र विदेशी मदिराको माग बढ्ने र सरकारलाई राजस्वमा पनि सहयोग पुग्ने भएकाले प्रतिबन्ध फुकुवा गरिएको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले मदिरा आयात खुला गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब १२ अर्ब ९४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि आर्थिक वर्षको तीन महिना बित्दा करिब १६ प्रतिशत राजस्व मात्रै संकलन भएको छ । सरकारी तथ्यांकअनुसार शनिबारसम्म १ खर्ब ४२ अर्ब मात्रै राजस्व संकलन भएको छ ।
कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेकाले सरकारले अपेक्षाकृत राजस्व संकलन गर्न नसकेको हो । राजस्व संकलन अपेक्षाअनुरूप नभएपछि सरकारले आन्तरिक ऋण उठाउने कामलाई पनि तीव्रता दिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउने प्रक्रिया सुरु गरेको सरकारले यो वर्ष आर्थिक वर्षको पहिलो त्रैमासबाटै आन्तरिक ऋण उठाउन थालेको हो ।
हालसम्म सरकारले ३० अर्ब आन्तरिक ऋण उठाइसकेको छ । कात्तिकभित्र ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने सरकारको तयारी छ । बैंक तथा वित्तीय संस्थामा ऋण माग नभएर अधिक तरलता रहेको बेलामा सस्तो ब्याजमा सरकारले आन्तरिक ऋण उठाउने कामलाई तीव्रता दिएको हो । २२ गतेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा महँगा सवारी आयातमा पनि प्रतिबन्ध फुकुवा गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ असोज २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट
बिहारमा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु
प्रहरीले सर्लाहीमा नष्ट गर्यो अवैध घरेलु मदिरा
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध