काठमाडौं । शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन गरिने बताउनुभएको छ । विश्व बसोबास दिवस २०२० का अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उहाँले स्थानीय सरकारसँगको सहकार्यमा सो कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा एक लाख ५० हजार घरमा सो कार्यक्रममार्फत फुसको छाना विस्थापन गर्र्ने लक्ष्य लिएको छ ।
सरकारले काठमाडौँ उपत्यकामा चार ‘स्मार्ट सिटी’ स्थापनालाई महत्वका साथ अघि बढाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले शहरी विकाससँग सम्बन्धित कानून पनि अघि बढाइरहेको छ । संविधानले नै आवासको हकलाई मौलिक हकमा राखेको छ ।
सो अवसरमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले नेपालका अधिकांस नगरपालिकामा खानेपानीको समस्या रहेको बताउँदै सङ्घीय र स्थानीय सरकारले संयुक्त रुपमा शहरी विकास कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ अब हामीले पार्कलगायतका संरचना पनि बनाउनुपर्छ ।”
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले आवास, शहरी विकास र भवन निर्माण व्यवस्थित शहरको महत्वपूर्ण तत्व भएको औँल्याउनुभयो । यस वर्ष दिवसको नारा ‘सबैका लागि आवास ः समृद्ध शहरी विकास’ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ असोज २०७७, २१ : ००
लेखकबाट थप