‘क्रिप्टो करेन्सी’ कारोबारमा डरलाग्दो चलखेल

'एक्सेल टोकन, पाई' लगायत ५ क्रिप्टो करेन्सी संचालकलाई पक्राउ गर्न सिबीआईलाई पत्राचार

‘एक्सेल टोकन’का ज्ञानेन्द्र खड्काको मुख्य चलखेल

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १२ : ०९
'एक्सेल टोकन, पाई' लगायत ५ क्रिप्टो करेन्सी संचालकलाई पक्राउ गर्न सिबीआईलाई पत्राचार

काठमाडौं । नेपालमा सरकारले ‘क्रिप्टो करेन्सी’ नेटवर्किङ व्यवसायमा प्रतिबन्ध जस्तै लगाएको छ । तर यस्तो व्यवसाय विदेशमा बसेर केही नेपाली व्यवसायीहरुले प्रविधि मार्फत आफुखुसी नेपालमा भर्चुअल मुद्राको अवैध कारोबारलाई बढावा दिन लागिपरेको पाईएको छ । यो व्यवसायकै कारण धेरैजना ठगिने सम्भावना बढेपछि सरकारले पनि अहिले छानविनको प्रक्रिया अगाडी बढाएको छ ।

कोरोना महामारीकै बीच सामाजिक सञ्जालमा भर्चुअल मुद्रा (बिटकोइन, पाईलगायत) सम्बन्धी सामग्रीसहितको विज्ञापन भाइरल बन्यो । असार साउन महिनातिर आकर्षक प्रलोभनसहितको विज्ञापन गरेर पाइलगायत भर्चुअल मुद्राको विज्ञापन गरेको थियो । भर्चुअल मुद्राको रुपमा लिइने क्रिप्टोकरेन्सीलाई नेपालमा झण्डै ३ वर्षयता अवैध घोषित गरिनुका साथै केही व्यक्तिले जेलको चिसो हावा समेत खाइसकेको छ ।

तर यसै सन्दर्भमा क्रिप्टोकरेन्सी प्रकृतिकै कारोबारका लागि खाता खोल्ने र नयाँ सदस्य बनाउने क्रम सामाजिक सञ्जालमा अहिले पनि तीब्र बनेको छ । भर्चुअल मुद्राको लागि नेटवर्किङ शैलीमा सदस्य थप्दै जाने क्रम बढ्दा सामाजिक सञ्जालमा यो ‘भाइरल’ नै बनेकै बेला अहिले सोही विषयमा सरकारले नै छानबिनलाई तीव्र पारेको छ ।

उद्योग मन्त्रालयले यस्तै कारोवार गर्ने ५ क्रिप्टोकरेन्सीका संचालकलाई पक्राउ गर्न सिबीआईलाई पत्राचार

यो विषयमा उद्योग मन्त्रालयले चासो देखाउँदै यसमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न सुरक्षा एजेन्सी (सिआईबीलाई अनुरोध समेत गरेको छ । मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​ले गतसाता केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्दै उनीहरुलाई पक्राउ गरी विभागमा पेश गरिदिन आग्रह गरेको हो । विभागले पठाएको पत्रमा एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न गरिदिन सिबीआइलाई पत्राचार गरि आग्रह गरेको छ ।

श्रोतका अनुसार कागजी रुपमा प्रक्रिया पु¥याएर नेपालका लागि काम गर्ने बताएपनि यि क्रिप्टोकरेन्सी कारोवार गर्ने समुहले अन्र्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्तलाई नै प्रोत्साहन गर्ने गरि काम गर्दै आएको खुलेको छ । यसमा कुनै पनि बेला स्वदेश एवं विदेशमा रहेका नेपालीहरुको रकम डुब्न सक्ने बताईएको छ । एक्सेल टोकनका ज्ञानेन्द्र खड्काको डरलाग्दो खेल स्वदेश तथा विदेशमा लगानी रहेका विभिन्न व्यवसाय ह्याण्डलिङ गरिरहेका ज्ञानेन्द्र खड्का यस धन्दामा सबैभन्दा सक्रिय रहेको विभाग स्रोतको भनाइ छ ।

पेइमेन्ट गेटवे कम्पनीका साथै एक्सेल पे नामको कम्पनीका व्यवस्थापन समेत रहेका उनको भर्चुअल कारोबारमा पनि उत्तीकै सक्रियता रहेको छ । यही कारोबारबाट उनले अकुत कमाएको र गैरकानुनी रुपमा नेटवर्किङ शैलीमा कार्य गरेको ठहरसहित मुद्दा चलाउन अहिले विभागले सीआईबीलाई पत्राचार गरेको छ । खड्काले आफ्नो अन्तररष्ट्रिय सञ्जालसमेत प्रयोग गरेर ठूलो संख्यामा विदेशमा रहेका नेपालीलाई समेत ठगी गरेको बताइएको छ । विभाग स्रोतले यसबारे औपचारिक रुपमा नबोलेपनि अनौपचारिक कुराकानीमा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा नल्याए कुनैबेला नेटवर्किङ व्यवसायबाट कैंयौं व्यक्तिहरु ठगिने अवस्थामा पुग्न सक्ने औंल्याउछन् ।

विभागले उनीसहित गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्लगायतको नाम पनि भर्चुअल कारोबारमा मुछेको छ । उनीहरुले विभिन्न नाममा उस्तै कारोबारको सञ्जाल विस्तार गरेका छन् । यसबारे बुझ्न खड्कालाई सम्पर्क गर्न पटक पटक प्रयास गर्दा पनि सम्भव भएन् । स्रोतका अनुसार खड्काले भर्चुअल मुद्राको कारोबार गर्नेगरी माल्टामा कम्पनी नै दर्ता गरेका गरि एक्सेल टोकन एक्सेन्ज नामबाट आफ्नो कारोबार गर्दै आएका छन् ।

विदेशमा हुँदै उनले नेपालसम्म समेत भर्चुअल मुद्राको कारोबार गरेको स्रोतको दावी छ। खड्काले कागजी रुपमा प्रक्रिया पु¥याएर काम गर्ने बताएपनि अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाएको भर्चुअल मुद्राको कारोबार गर्ने क्रिप्टोलाई प्रोत्साहन गर्न लागिपरेको छ । उनले मुद्राको कारोबार पनि क्रिप्टोकै पेमेन्ट गेटवेबाट गर्दै आएको खुलेको छ ।

के हो क्रिप्टो करेन्सी ?

अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यो भौतिक रुपमा देख्न नसकिए पनि अनलाइनको माध्यमबाट व्यक्ति व्यक्तिबीच किनबेच हुन्छ । यस्तो भर्चुअल कारोबार हुने क्रिप्टो करेन्सीका डिजिटल प्ल्याटफर्म विश्वमा हजारौंको संख्यामा छन् । बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यास जस्ता सैयौँ क्रिप्टोकरेन्सीहरु प्रचलनमा छन् । तर यस्ता डिजिटल मुद्रा कारोबार विश्वका धेरै जसो देशरुमा प्रतिबन्धित छन् ।

नेपालमा पनि ३ वर्षअघि देखि यस्ता करेन्सीमार्फत् हुने कारोबार र माइनिङ समेत प्रतिबन्ध लगाइरहेको छ । भारतमा भने सर्वोच्च अदालतको आदेशपछि ३ महिना अघि मात्रै यस्तो प्रतिबन्ध हटाइएको छ । नेपालका साथै बंगलादेश, चीन, बोलिभिया, रुस, भियतनाम लगायतका देशमा अहिलेपनि क्रिप्टो करेन्सीको कारोबारलाई गैरकानुनी मानिन्छ ।

तर विश्वका केही देशहरुले भने यसलाई मान्यता दिएका छन् । विश्वका धेरै जसो मुलुकहरुमा क्रिप्टो करेन्सी प्रतिबन्ध रहेपनि केही मुलुकहरुमा भने यसले मान्यता पाएको छ । नेपालमा पनि यसलाई वैधानिकता दिनुपर्ने भन्नेबारे कतिपयले आवाजहरु उठ्दै आएको भएपनि ठगी हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकार सकारात्मक हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस