अब अर्थमन्त्रालयको जिम्मेवारी समाल्ने विष्णु पौडेल नै हुन् ?

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १६ : ३७
अब अर्थमन्त्रालयको जिम्मेवारी समाल्ने विष्णु पौडेल नै हुन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्रालय आफ्ना विश्वास पात्रलाई दिन चाहेका छन् । यसअघि पनि प्रधानमन्त्री ओली अर्थमन्त्रालय आफू निकटका युवराज खतिवडालाई सुम्पेका थिए । 

खतिवडालाई अर्थमन्त्रालय दिएसँगै प्रधानमन्त्री ओलीको आलोचना भएको थियो । खतिवडा राजनीतिज्ञ होइनन्, उनी अर्थको विषयविज्ञ थिए । पछिल्लो समय खतिवडाको राष्ट्रिय सभाको समयअवधि सकिएपछि ओलीले उनलाई  मन्त्री सरहको सुविधा दिएर आफ्नो आर्थिक सल्लाहकार बनाएका थिए । प्रधानमन्त्री ओली अर्थमन्त्रालय आफैँले राखेर विशेष आर्थिक सल्लाहकार खतिवडाकै नीतिबमोजिम अर्थमन्त्रालय चलाउन चाहन्थे । अर्थमन्त्रालय आफँैले लिँदा पार्टीबाट ओली थप आलोचित बन्ने खतरा पनि थियो । 

पछिल्लो समय खतिवडा बालुवाटारमा बसेर अर्थमन्त्रालय हेर्नुभन्दा अमेरिकाको राजदूत बन्न रुची देखाएका बालुवाटार स्रोतको भनाइ छ । खतिवडाकै रुचीअनुसार प्रधानमन्त्री ओलीले उनलाई अमेरिकाको राजदुतमा नियुक्त गरिदिएका छन् । खतिवडा अमेरिकाको राजदुतमा नियुक्त भएसँगै अर्थमन्त्रालय आफैँले राख्ने सोचमा अब प्रधानमन्त्री ओली छैनन् । मन्त्रिमण्डल पुनर्गठन भएसँगै देशले नयाँ अर्थमन्त्री पाउनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्र नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउन कसरत गरिरहेका छन् । यद्यपी पौडेल अर्थमन्त्री नबनी पार्टी काममा नै अघि बढ्ने बताइरहेका छन् । तर परिस्थितिले अर्थमन्त्रीमा पौडेललाई ल्याउने अवस्था सिर्जना गरेको बालुवाटार स्रोतको भनाइ छ । 

महासचिव पौडेल प्रधानमन्त्री ओली निकटका हुन् । पार्टी एकीकरणदेखि पछिल्लो पार्टीमा भएको विवाद समाधानमा पौडेलको महत्वपूर्ण भूमिका छ । यसअघि पनि पौडेल अर्थमन्त्री भइसकेर राम्रो काम गरेका, आफ्ना विश्वासपात्र रहेका कारण प्रधानमन्त्री ओली पौडेललाई अर्थमन्त्री बनाउन चाहेका छन् । 

पौडेललाई अर्थमन्त्रालयको प्रस्ताव अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहर्ष स्वीकार्ने देखिन्छ । पौडेल प्रचण्डसँग पनि उत्तिक्कै नजिक छन् । पार्टीभित्रको विवाद मिलाउने दौरानमा पौडेल प्रचण्डसँग पनि नजिक भए । कसैलाई निबिझाउने, नचिढ्याउने स्वभावले गर्दा र आफूसँग पनि नजिक भएकाले प्रचण्डले पौडेलको नामलाई कुनै हालतमा नाइँ भन्‍न सक्ने अवस्था नरहेको स्रोतको भनाइ छ । 

 बिहीबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि नयाँ अर्थमन्त्रीको खोजी सुरु भइसकेको र पौडेलको सम्भावना बलियो बनेको बालुवाटार स्रोतको भनाइ छ । पौडेलले पार्टीकै काममा रुचि देखाए पनि प्रधानमन्त्री ओलीले पौडेललाई अर्थमन्त्री बन्न विशेष आग्रह गरिरहेका छन् । 

ओलीको पहिलो प्रधानमन्त्रीकालमा पनि पौडेल अर्थमन्त्री थिए । अर्थमन्त्री बन्दा उनका केही योजना अहिले पनि लोकप्रिय रहेका छन् । सबैसँग सुमधुर सम्बन्ध कायम राख्न सक्ने भएकाले  पार्टीभित्र उनलाई रुचाउने पंक्ति धेरै छन् । 

अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको पनि चर्चा चलेको थियो । तर, उनी प्रधानमन्त्री ओली निकटका होइनन् । प्रधानमन्त्री आफू निकटकालाई अर्थमन्त्री बनाउन खोज्दा पाण्डे यसपटक पनि अर्थमन्त्री बन्नबाट चिप्लिने सम्भावना छ । धेरै अघिदेखि उनी अर्थमन्त्री बन्नको लागि लबिङमा थिए । 

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पाण्डेलाई फोन गरेर अर्थमन्त्रीबाहेक अरु कुनै मन्त्रालय लिनलाई प्रस्तव गरेका थिए । तर पाण्डेले अर्थमन्त्रालयबाहेक अरु मन्त्रालय नलिने भनेपछि पाण्डेको मन्त्री बन्ने सम्भावना कम हुँदै गएको छ । प्रधानमन्त्री ओली पाण्डेलाई सहरी विकास मन्त्रालय दिने सुरसारमा थिए । 

 

प्रतिक्रिया दिनुहोस