नारी दिवस

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र सभापति देउवाद्धारा नारी दिवसको शुभकामना

विहीबार, २४ फागुन २०७४, ०९ : १०
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र सभापति देउवाद्धारा नारी दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको बताउनुभएको छ ।
महिलाको हकअधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ ।
महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न आवश्यक रहेकामा राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।

महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्न यस दिवसले प्रेरणा दिन सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीद्धारा शुुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ ।
 प्रधानमन्त्री ओलीले सन्देशमा सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राखेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, “विभिन्न खालका कूरीति अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु ।”
 सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उल्लेख छ ।

त्यसैगरी स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला राख्ने प्रावधान महिला सशक्तीकरणका लागि महत्वपूर्ण फड्को भएको र राष्ट्रपतिजस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका सीमित मुलुकको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको सन्देशमा उल्लेख छ ।

नेपालको संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
 महिला हकअधिकारप्राप्तिका लागि संविधान, विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले ती सन्धिसम्झौताको पालनमा सरकार गम्भीर रहेको सन्देशमा उल्लेख छ ।

काँग्रेस सभापति देउवाद्धारा शुुभकामना
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको भन्दै त्यसविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

शहरदेखि दूरदराजका गाउँहरूमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गर्दै उहाँले हिंसा र लोकतन्त्र जनताको सम्प्रभूतामाथिको सबैभन्दा ठूलो खतरा रहेको औँल्याउनुभएको छ ।

“हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो, हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो, काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ उहाँले विश्वास लिएको छु” शुभकामना सन्देशमा उल्लेख छ । (रासस)

प्रतिक्रिया दिनुहोस