युवा रुपान्तरित नेतृत्वका लागि ५ दिने सेमिनार हेटौँडामा शुरु

मंगलबार, २२ फागुन २०७४, १४ : ४८
युवा रुपान्तरित नेतृत्वका लागि ५ दिने सेमिनार हेटौँडामा शुरु

मकवानपुर । हेटौँडामा ५ दिने ‘रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार’ मंगलबारबाट शुरु भएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा हेटौंडा—५, सानो पोखरामा अवस्थित संघको सभाहलमा सेमिनार शुरु भएको हो ।

सेमिनारमा संघका भक्तपुर शाखा संयोजक तथा युवा प्रशिक्षक हरिबहादुर खत्री, हेटौँडा शाखा संयोजक सुवाश लामा, धादिङका संयोजक दिपक सापकोटा,  उदयपुर शाखा संयोजक ईन्द्र खतिवडा र विरगञ्ज शाखा संयोजक हरिबहादुर लोप्चनले प्रशिक्षण दिने छन् । साथै सामाजिक सेवामा लागिरहेका विशिष्ट व्यक्तित्वहरुबाट प्रेरणादायी कक्षाहरु समेत संचालन हुने संघका हेटौँडा शाखा संयोजक लामाले बताए ।

५ दिन सम्म यूवाहरुलाई एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइने छ ।  साथै नेतृत्व विकासका विभिन्न क्रियाकलापहरुमा समेत व्यवहारिक रुपमा उनीहरुलाई सामेल गराईनेछ । सेमिनारमा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषय वस्तुमा आधारित भएर प्रशिक्षण दिइने संयोज सुवास लामाले बताए । त्यसका साथै सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक,ज्ञानमूलक, सेवामूलक र चेतनामूलक गतिविधिहरुका बारेमा समेत प्रशिक्षार्थीहरुको प्रत्यक्ष सहभागीतामा विविध प्रस्तुतिसहितको कक्षा संचालन हुने संयोजक लामाले जानकारी दिए । सेमिनारमा ३० जनाभन्दा बढी सहभागी रहेका छन् ।  

संघले युुवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी  देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ । ‘चरित्रवान् व्यक्ति नै असल परिवार,समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा हो । व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएकाले यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले सेमिनार गरिएको हो’ लामाले भने, ‘उचित ज्ञान र शिक्षाको अभावमा अपराध र बिकृति बढ्छ, त्यसलाई रोक्नु मात्र होइन अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता हो, त्यसको जिम्मेवारी हामीले बोध गरेर यस्ता कार्यक्रम संचालन गरेका हौ ।’

प्रतिक्रिया दिनुहोस