संविधानमा जे संशोधन आवश्यक छ त्यो गरौं, योे बाइवल, गीता होइन : राजेन्द्र महतो

मंगलबार, २२ फागुन २०७४, १४ : २१
संविधानमा जे संशोधन आवश्यक छ त्यो गरौं, योे बाइवल, गीता होइन : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले नयाँ नेपाल निर्माणका लागि पुरानो मानसिकता त्याग्नुपर्ने बताएका छन् । हिन्दीमा सम्बोधन गरेका महतोले संविधान संसोधनमा प्रतिवद्धता जनाई कार्यान्वयन गर्न सरकारसंग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता महतोले कार्यान्वय नहुने सम्झौता नभई मनले प्रतिवद्धता गरि संविधान संसोधन गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

विभिन्न कालखण्डमा पटक पटक सम्झौता भएको तर कार्यन्वयन नभएको स्मरण गर्दै उनले कार्यान्वयन नहुने सम्झौता नगर्न ध्यानाकर्षण गराए ।  विगतमा हुदै आएका सम्झौता र धोकालाई क्रमभंग गरि यथार्थमा संविधान संसोधन गरि श्रृजनात्मक काम गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफूहरुले समेत सहयोग गर्ने र दुई तिहाई बढी पुग्ने भन्दै उनले संविधान संशोधन अघि बढाउन आग्रह गरे । महतोले भने, ‘प्रधानमन्त्रीजी दिल खोलेर अघि बढ्नुस् । संविधान बाइवल, गीता होइन । संविधानमा जे संशोधन आवश्यक छ, त्यो गरौं ।’

संविधान बनाउने समयमा राज्यले आफुहरुको आवाज नसुनेको, सडकमा लड्दै गर्दा, बन्दुक देखाएर संविधान जारी गरि राजधानीमा दिपावली मनाईएको भन्दै बैठकमा बोल्दै गर्दा राजपाका सांसद महतो निकै भावुक बने ।  उनले विगत सम्झदै सम्झौताको नाममा धोका नदिन पटक पटक ध्यानाकर्षण गराए ।
‘यो देश कुनै भाषा, जाति वा धर्मको होइन, सबैको देश हो’ महतोले भने, ‘प्रचण्डजीले ठीक भन्नुभयो, यो विवाद बढाउने समय होइन । सिंहदरबारले अरु जनता के चाहन्छन्, त्यो बुझे समस्या हुँदैन ।’

उनले  कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई बैठकमा सहभागी हुनका लागि आवश्यक वातावरण मिलाउन आग्रह पनि गरे ।  महतोले वामगठबन्धनको सरकारलाई आफ्नो सहयोग र समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस