मिथिला समुदायको लोक पर्व जितियाको व्रत शुरू, कोरोना कहरले घरमै बसेर मनाईदैं

रासस

विहीबार, २५ भदौ २०७७, १० : १७
मिथिला समुदायको लोक पर्व जितियाको व्रत शुरू, कोरोना कहरले घरमै बसेर मनाईदैं

जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोक पर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । विश्वविद्यालय पञ्चाङ्ग र मिथिला कलेण्डरअनुसार गए राति अष्टमीको प्रवेशदेखि शुरू भएको यो व्रत शुक्रबार  ६ बजेपछि सम्पन्न हुनेछ ।

जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको खुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ । विशेषरूपले आइतबार र मङ्गलवार पर्ने जितियालाई अधिक महत्व दिइन्छ ।

यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ । भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र  थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार वसी साँझपख जिमुतवाहन , चिल र स्याल विषयक कथा स्न्ने गर्दछिन् ।

कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइताला मुनि एउटा खर राख्नु पर्ने हुन्छ । कथा समाप्त भएपछि पाइताला मुनिको खरलाई ६ टुक्रा पारी तीन—तीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ ।  यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।
नवमी तिथिमा स्नानादि गरी पवित्र भई जिमुतवाहन, चिल र स्याल र दिवंगता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अंकुरी (भिजाइएको केराउ) सहित पकाइएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करिब तीन दिनको अवधि समेटको हुन्छ ।

जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरि , पितराइन र  ओठङ्नको विधि गर्ने चलन रहेको छ । जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण रहेका छन् ।

व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ । यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनी बीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।

चितवनका थारु समुदायले घरमै बसेर जितिया पर्व मनाउदैं

यसै बिच चितवनका थारु समुदायले घरमै बसेर जितिया पर्व मनाउदैं छन् । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका हुन् ।

jitiya-parba-2

थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ । कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए ।

आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पु¥याउने चलन पनि छ ।
 

प्रतिक्रिया दिनुहोस