एटीएमका २५ वर्ष : कोरोनामा कारोबार उच्च  देखियो

पत्रपत्रिकाबाट

आइतबार, १४ भदौ २०७७, ०८ : १३
एटीएमका २५ वर्ष : कोरोनामा कारोबार उच्च  देखियो

काठमाडौं । नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष भएको छ । २०५२ मा हिमालयन बैङ्कले एटीएम बुथ सञ्चालन गरी नेपालको बैङ्किङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो तर कार्डको प्रयोग भने त्यसअघि नै नबिल बैङ्कले २०४७ मा नै थालेको थियो ।

एटीएम ल्याइएको सुरुवाती वर्षमा यसको कारोबार नगन्य थियो । प्रयोगकर्तामा ज्ञान पनि थिएन तर त्यो विस्तार भई सन् २०१८ मा प्रतिएक लाख जनसङ्ख्याका लागि करिब १३.७८ एटीएम मेसिन रहेका छन् । सन् २०११ मा यो सङ्ख्या प्रतिलाखका लागि करिब ७.३ थियो । सन् २०१९ डिसेम्बरसम्म ६८ लाख १९ हजार ६०२ डेबिट कार्ड प्रयोगमा रहेका थिए ।

नेपाल राष्ट्र बैङ्कका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन् । ७४७ स्थानीय निकायमध्ये प्रायः सबैमा बैङ्कसँगै एटीएमको पनि पहुँच पुगेको छ । हाल प्रायः सबै वाणिज्य बैङ्क मात्र नभई सहकारीले समेत एटीएमबाट ग्राहकलाई सेवा दिन थालेका छन् ।

 एटीएमको प्रयोग व्यापक रहँदा यसको कारोबार बढेको पाइएको छ । हाल नेपालमा तीन हजार ९५० एटीएम मेसिन रहेका छन् । कोरोनाका कारण भएको बन्दाबन्दीका कारण बैङ्कहरूले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा यी एटीएमबाट एक महिनामा ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँसम्म निकालिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस