वीरगञ्जमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, ११ : ४१
वीरगञ्जमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

पर्सा । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्थायी विशेष कोरोना हेल्थ केयर अस्पतालमा कलैया उप महानगरपालिका र विश्रामपुर गाउँपालिकाका दुई पुरुषको मंगलबार राति उपचारको क्रममा ज्यान गएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ का ६६ वर्षका पुरुष र बिश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षका पुरुषहरू रहेको मिश्रले बताए।

नारायणी अस्पतालका सूचना अधिकारी डा। अतुलेश चौरसियाका अनुसार थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्‍यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो ।

त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको मंगलबार राति १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस