के सन्देश बोकेर काठमाडौं फर्किए भारतीय राजदुत क्वात्रा ?

भारतीय विदेश सचिव श्रृंगला बंगलादेश भ्रमणबाट फर्केलगतै क्वात्रा उनीसँग भेटका लागि दिल्ली

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, ०९ : ०८
के सन्देश बोकेर काठमाडौं फर्किए भारतीय राजदुत क्वात्रा ?

काठमाडौं । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्रा एक साता लामो दिल्ली बसाई पछि हिजो नेपाल फर्किएका छन् । गत भदौं ३ गते काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेकै दिन स्थलमागबाट गोरखपुर हुँदै दिल्ली पुगेका राजदुत क्वात्रा पूनः त्यही बाटो हुँदै हिजो काठमाडौं आईपुगेको दुतावास स्रोतले बताएको छ । 

नेपाल र भारतका बीचमा बिग्रेको सम्बन्ध पूर्नस्थापित गर्न र दुई देशका परराष्ट्र सचिव स्तरको सम्वादको प्रयासका लागि उनी भारतका विदेश मन्त्रालयसँगको परामर्शका लागि दिल्ली पुगेका थिए । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा ११ मिनेट फोन सम्वाद भएपछि दुई देशबीच पूनः सम्वादहिनता तोड्न अनेक प्रयास शुरु भएका छन् । 

सम्वादहिनता तोड्न अहिले भारतीय राजदुत क्वात्रा आफै पनि सक्रिय हुन थालेका छन् । १ भदौंमा मात्र पनि दुई देशका बीचमा नेपाल भारत पर्यवेक्षण संयन्त्रको भर्चुअल बैठक सम्पन्न भएको थियो । सन् २०१६ मा प्रचण्ड प्रधानमन्त्री भएका बेला द्दिपक्षिय परियोजनाहरुको कार्यान्वयनको निरिक्षण गर्ने निर्धारित समयसिमा भित्र काम पूरा गर्न आवश्यक कदम चाल्न प्रेरित गर्ने उद्येश्यले गठन भएको पर्यवेक्षण संन्यत्रको भर्चुअल बैठकमा नेपालका लागि परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदुत विनयमोहन क्वात्राले नेतृत्व गरेका थिए ।

 ‘उहाँ हिजो साँझ मात्र काठमाडौं आईपुग्नुभएको छ, ३ गते उहाँ नेपालका नेताहरुसँग एक चरण छलफल गरी दिल्ली जानुभएको थियो, उहाँले विदेश मन्त्रालयका अधिकारीहरुसँग सम्वाद गरेर फर्किनुभएको छ’,– दुतावास स्रोतले भन्यो ।

सोही साँझ राजदुत क्वात्राले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए । त्यही क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि उनको भेट भएको थियो । भेटवार्तामा दुई देशका परराष्ट्र सचिव स्तरमा वार्ता पारम्भ गर्ने र सम्वादहिनता तोड्ने विषयमा छलफल भएपछि राजदुत क्वात्राले सक्रियता बढाएका थिए । दिल्लीलाई अझै पनि नेपालसँग सम्वादहिनता जारी राख्दा नेपाल चीन तर्फ आश्रित हुन सक्ने भय छ । त्यही भयका बीच उसले सम्वाद अगाडी बढाउने गरी तयारी थाल्न राजदुत क्वात्रालाई आग्रह गरेपछि उनले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । 

१ भदौंको साँझ प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेका राजदुत क्वात्राले भोलिपल्टै २ भदौंमा काँग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै निवास लैनचौरमा बोलाएर भेटवार्ता गरेका थिए । त्यसपछि दिउँसो उनले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ताका लागि नेपाल निवास कोटेश्वर नै पुगेका थिए । सोही दिन साँझ उनले अर्का पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

एकचरण प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा, नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्ता पछि उनी दिल्ली पुगेका थिए । नेपालका शीर्ष नेताहरुसँगको सम्वादपछि नेपालको सन्देश बोकेर उनी भदौं ३ मा गोरखपुर हुदैं दिल्ली पुगेका हुन् । दिल्लीमा उनले विदेश सचिव हर्षवर्धन श्रृंगला, प्रवक्ता लगायतसँग भेटवार्ता गरेका थिए । नेपालका नेताहरुसँग उनले गरेको सम्वाद र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँग उच्चस्तरको सम्वाद गरेर उनी फेरि गोरखपुर हुदै नेपाल फर्किएका थिए ।  

विदेश सचिव श्रृंगला बंगलादेश भ्रमणबाट फर्केलगतै क्वात्रा उनी लगायतसँग भेटका लागि दिल्ली पुगेका हुन् । ‘उहाँ हिजो साँझ मात्र काठमाडौं आईपुग्नुभएको छ, ३ गते उहाँ नेपालका नेताहरुसँग एक चरण छलफल गरी दिल्ली जानुभएको थियो, उहाँले विदेश मन्त्रालयका अधिकारीहरुसँग सम्वाद गरेर फर्किनुभएको छ’,– दुतावास स्रोतले भन्यो ।
नेपाल र भारत दुई देशबीच भारतले गत कात्तिक १६ मा नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि तिक्तता बढेको थियो । 

त्यसपछि पनि भारतले नेपालको विरोधलाई वेवास्ता गर्दै कालापानी क्षेत्रमा सडक मार्ग एकतर्फी खन्ने काम गरेर नेपाललाई चुनौति दिएको थियो । त्यसपछि भने नेपालले पनि भारतको मिचाहा प्रवृतिको एक भएर सामना गर्दै आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्ने, संविधान संसोधन गरेर नेपालको नयाँ नक्सा जारी गर्ने लगायतका काम गरेको थियो ।

त्यसपछि भने दुई देशका बीचमा करिव सम्वादहिनता नै थियो । अब त्यो सम्वादहिनता तोड्ने प्रयासमा दुवै देश लागि रहेका बेला राजदुत क्वात्रा दिल्ली पुगेर नेपाल फर्किएका छन् । उनले के सन्देश बोकेर आएका छन ? भन्ने कुरा अहिले चासोको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस