पाम तेलबिना नै निर्यात उकालो लाग्यो

पत्रपत्रिकाबाट

मंगलबार, ०९ भदौ २०७७, ०८ : ३८
पाम तेलबिना नै निर्यात उकालो लाग्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।  मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम तेल नेपाल ल्याएर यहाँबाट प्रशोधन गरी भारत पठाउँदा निर्यात बढेको देखिएको विगतबीच साउनमा भने फरक परिदृश्य देखिएको हो ।

भन्सार विभागका अनुसार साउनमा कुल नौ अर्ब ६२ करोड रुपियाँको निर्यात भएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको छ, जुन दुई अर्ब २७ करोड रुपियाँको निर्यात भएको देखिन्छ । गत आवको साउनभर आठ अर्ब ८३ करोड रुपियाँको निर्यात भएको थियो । जसमा ठूलो हिस्सा पाम तेलको थियो । उक्त अवधिमा नेपालबाट एक अर्ब ७५ करोड रुपियाँको पाम तेल निर्यात भएको थियो । 

सूचीको दोस्रो स्थानमा रहेको भटमास तेल भने केवल ४५ करोड रुपियाँको मात्र निर्यात भएको थियो । विभागका अनुसार चालू आवको साउनमा नेपालबाट पाम तेल निर्यात भएको छैन । निर्यातमा भारतको अस्थिर नीतिका कारण यतिबेला नेपालबाट पाम तेल निर्यात हुन सकेको छैन ।

यस वर्ष साउनमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुनेमा कालो चिया रहेको छ । नेपालले ७२ करोड ७८ लाख रुपियाँको कालो चिया भारत निर्यात गरेको छ ।  त्यसपछि ४७ करोड ६२ लाख रुपियाँको अलैँची निर्यात भएको छ । गलैँचा ३७ करोड ४५ लाख रुपियाँको निर्यात हुँदा २७ करोड २८ लाख रुपियाँको बुनेका कपडा निर्यात भएको छ । निर्यात भएका प्रमुख यी पाँच वस्तुमध्ये गलैँचाबाहेक बाँकी सबै भारतमा मात्र निर्यात भएका वस्तु हुन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस