बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, ०७ : ०५
बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।
गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० ले हराउँदै बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।  

पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

खेलको सुरुवाततिर दुवै टोलीले गोल गर्ने केही अवसर गुमाएका थिए ।  १८औं मिनेटमा नेयमारका दुई प्रहारलाई बायर्नका गोलरक्षक म्यानुयल नोएरले रोकेका थिए । २२औं मिनेटमा बायर्नका रोवर्ट लेवान्डोस्कीले प्रहार गरेको बल पिएसजीका गोलरक्षक केलर नाभास बिट भएता पनि पोलमा लागेर फर्किएको थियो । 

बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो ।

प्रतिक्रिया दिनुहोस