भारतीय राजदुतको सक्रियता किन बढ्यो ?

पूर्वप्रधानमन्त्रीहरु शेरबहादर देउवा, माधव नेपाल देखि प्रचण्डसम्मलाई एकैदिन भेटेर उनले बढाए फेरि आफ्नो सक्रियता

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, ०९ : ३२
भारतीय राजदुतको सक्रियता किन बढ्यो ?

काठमाडौं । भारतले नेपालमा फेरि राजनीतिक भेटवार्ता शुरु गरेको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग ११ मिनेट फोन सम्वाद गरेपछि दुई देशबीच बिग्रदो सम्बन्ध सुधारका लागि शुरु भएको राजनीतिक सम्वादमा नेपालस्थित भारतीय राजदुतले सक्रियता देखाएका छन् । 

दुई देशबीच भारतले गत कात्तिक १६ मा नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि तिक्तता बढेको थियो । त्यसपछि पनि भारतले नेपालको विरोधलाई वेवास्ता गर्दै कालापानी क्षेत्रमा सडक मार्ग एकतर्फी खन्ने काम गरेर नेपाललाई चुनौती दिएको थियो । त्यसपछि भने नेपालले पनि भारतको मिचाहा प्रवृतिको एक भएर सामना गर्दै आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्ने, संविधान संसोधन गरेर नेपालको नयाँ नक्सा जारी गर्ने लगायतका काम गरेको थियो । 

त्यसपछि भने दुई देशका बीचमा करिव सम्वादहिनता नै थियो । तर दुई देशका प्रधानमन्त्री तहमा १५ अगष्टमा ११ मिनेट लामो सम्वाद भएपनि सिमाको विषयमा चर्चा हुन सकेन् । तर पनि अर्थपूर्ण सम्वाद भएपछि दुई देशबीच राजनीतिक भेटवार्ता र सम्वाद भने बाक्लिन थालेको छ । 

१ भदौंमा मात्र पनि दुई देशका बीचमा नेपाल भारत पर्यवेक्षण संयन्त्रको बैठक पनि सम्पन्न भएको छ । सन् २०१६ मा प्रचण्ड प्रधानमन्त्री भएका बेला द्दिपक्षिय परियोजनाहरुको कार्यान्वयनको निरिक्षण गर्ने  निर्धारित समयसिमा भित्र काम पूरा गर्न आवश्यक कदम चाल्न पेरित गर्ने उदेश्यले गठन भएको पर्यवेक्षण संन्यत्रको भर्चुअल बैठक पनि सम्पन्न भएको थियो । नेपालका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र भारतका तर्फबाट भारतीय राजदुत विनयमोहन क्वात्राले नेतृत्व गरेको दिपक्षिय बैठक सम्पन्न भएको थियो । 

त्यसको दुई दिन पछि भने राजदुत क्वात्राले नेपालमा पूर्व प्रधानमन्त्रीहरुसँगको सम्वाद बढाएका हुन् । त्यही क्रममा विनयमोहन क्वात्राले हिजो मंगलबार पूर्व प्रधानमन्त्रीहरु शेरबहादर देउवा, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् । देउवासँग उनले आफ्नै निवास लैनचौरस्थित दुतावासमा र नेपाल र प्रचण्डसँग भने नेताहरुकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । 

भेटमा राजदुत क्वात्राले दुई देश बीच देखा परेको अविश्वास र आशंका मेटेर नयाँ शिराबाट अगाडी बढ्न नेताहरुसँग सम्वाद थालेको दुतावास स्रोतले बताएको छ । देउवासँग भने राजदुत क्वात्राले दोश्रोपटक भेट वार्ता गरेका हुन् । गत साता मात्रै पनि देउवा पत्नी डा. आरजु राणाको गाडीमा साँझको समयमा दुतावास छिरेका थिए । हिजो पनि बिहान देउवा दुतावासमै पुगेर राजदुतसँग भेटवार्ता गरेका हुन् । काँग्रेसको आगामी महाधिवशेनमा पून नेतृत्व हत्याउने होडमा रहेका देउवा दिल्लीको समेत साथ र सहयोग लिएर चुनाव जित्ने रणनीतिका साथ अगाडी बढ्न चाहेका छन् । सोही कारण भारतीय राजदुत क्वात्राले भेट्न चाहेमा उनी आफै दुतावासमा पुग्न थालेका हुन् ।

त्यही क्रममा देउवा हिजो बिहान आफै दुतावास पुगेर राजदुत क्वात्रासँग भेट गरेका हुन् । देउवासँग भेटेपछि मध्यान्ह साढे १२ बजेपछि क्वात्रा माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । त्यहाँ पनि उनले झण्डै एक घण्टा छलफल गरेर दुतावास फर्किएका थिए । त्यसपछि साँझ ५ बजे उनी फेरि अर्का पूर्व प्रधानमन्त्री प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । प्रचण्डसँग पनि राजदुत क्वात्राले करिव एक घण्टा छलफल गरेका थिए ।

राजदुत क्वात्राले अब अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गर्ने रणनीति बनाएको दुतावास स्रोतले जनाएको छ । खनालसँग आजै र प्रधानमन्त्री ओलीसँग पनि भोलिसम्ममा राजदुत क्वात्राले भेटने सम्भावना रहेको छ । यी भेटघाटहरु दुई देशका बीचमा वढेको तिक्त सम्बन्ध सुधार गरेर नयाँ शिराबाट फेरि सम्बन्धलाई पुर्नताजगी गराउने उदेश्यसँग सम्वन्धित रहेको र त्यसैका लागि भारतको विदेश मन्त्रालयको निर्देशनका आधारमा राजदुत क्वात्राले राजनीतिक सक्रियता बढाउन थालेको बताईएको छ । 

भारतलाई नेपालमा चीनको भूमिका बढ्दै गएको लागेको छ । भारतसँग दुरी बढने र नेपालको चीनसँग सम्बन्ध हिमचिम हुने सम्भावना बढेको अनुमानका साथ उसले चीनसँगको सम्बन्धमा भन्दा आफैसँगको सम्बनधमा नेपाललाई बढी इन्गेज गराईराख्न राजदुत क्वात्रामार्फत राजनीतिक भेटघाट शुरु गराउन लागेको स्रोतको भनाई छ । त्यही कारण राजदुत क्वात्राले सोमबार दिनभर पूर्व प्रधानमन्त्रीहरुसँगको पहिलो चरणको भेटघाट शुरु गरेको बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस