गाउँमै अपांगता परिचयपत्र वितरण

शनिबार, १९ फागुन २०७४, ११ : ५३
गाउँमै अपांगता परिचयपत्र वितरण

त्रिशूली(नुवाकोट) । महिला तथा बालबालिका कार्यालयले गाउँगाउँमा गएर अपांगता परिचयपत्र वितरण गर्न थालेको छ ।
कार्यालयले शिवपुरी गाउँपालिकाको सहकार्यमा शिवपुरी – ८, शेराबगरमा अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाको कार्यालयमा शुक्रबकार आयोजित शिविरमा १०४ जनालाई परिचय वितरण गरिएको महिला विकास अधिकृत भुला भण्डारीले जानकारी दिनुभयो ।
परिचय वितरणका लागि चिकित्सक सहितको टोली गाउँपालिकामा पुगेको थियो । शिविरमा १९ जनालाई रातो , ३७ जनालाई नीलो , २६ जनालाई पहेंलो र र २२ जनालाई सेतो परिचयपत्र उपलब्ध गराइएको थियो । परिचयपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अपांगतायुक्त व्यक्तिलाई सदरमुकामसम्म लैजान समस्या हुने भएकाले गाउँपालिकामा नै शिविर सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाका प्रत्येक वडाबाट गाउँपालिकाको कार्यालयसम्म उनीहरुलाई ल्याउनका लागि स्थानीय संघसस्ंथाले सवारीसाधनको व्यवस्था गरेका थिए । यसअघि कार्यालयले दुप्चेश्वर गाउँपालिकामा पनि अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरेको थियो । रातो परिचयपत्र प्राप्त गर्ने पूर्ण अपांगता भएकाहरुले सामाजिक सुरक्षा भत्तासमेत पाउँछन् ।

कृषि उपज प्रदर्शनी
स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई प्रोत्साहन गर्ना लागि शिवपुरी गाउँपालिकामा सञ्चालित कृषि उपज प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।

शिवपुरी – ७, रचनडाडाँमा आयोजित एकदिने कृषि उपज प्रदर्शनीमा ५५ किसानले उत्पादन गरेका कृषि उपज प्रदर्शनी गरिएको थियो । गाउँमा कृषिसँग कार्यक्रम सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्ब केन्द्रको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले किसानको बजारसँग सहज पहुँच विस्तार गर्ने र बिचौलियालाई रोक्नका लागि सरकारी तथा अन्य सरोकारयुक्त निकायले काम गर्नुपर्ने बताउनुभयो ।
शिवपुरी–७ का वडास्तरीय कृषक सञ्जालका अध्यक्ष सन्तबहादुर तामाङले बजारसम्मको सहज पहुँच विकास र सहज रुपमा बीउविजन उपलब्ध गराउन माग गर्नुभयो ।

प्रदर्शनीमा केराउ, गोलभेंडा, आलु, बन्दा, काउली, साग, गाजर, मुला, अदुवा, लसुन, प्याज, बकुल्ला, फर्सी, केरा, उखु, कागती, अलैंची, सीताके च्याउ, मेवा, भुइँस्याउलगायत उत्पादन राखिएका थिए ।
प्रदर्शनीमा उत्कृष्ट किसानलाई पुरस्कृत पनि गरिएको थियो । तरकारी बालीमा धनमाया तामाङ (सीताके च्याउ), फलफूल बालीमा सीता सुनार (मेवा) र मसला बालीमा जुना तामाङ (अलैंची) पहिलो र रत्नबहादुर डंगोल उत्कृष्ट कृषक घोषित भई पुरस्कृत हुन सफल भएको कार्यक्रम संयोजक साधुराम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा तरकारी संकलन केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने चन्द्रबहादुर डंगोललाई सम्मान गरिएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस