सञ्चालनमा आयो क्वालिटी कागज उद्योग, लगानी एक अर्ब

सूर्यप्रकाश कँडेल

बुधबार, २८ साउन २०७७, १६ : १८
सञ्चालनमा आयो क्वालिटी कागज उद्योग, लगानी एक अर्ब

चितवन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको मध्यविन्दु नगरपालिका १०, अरुणखोलामा क्वालिटी पेपर इण्डष्ट्रिज सञ्चालनमा आएको छ । चितवनका चार जना युवा उद्यमीले एक अर्ब लगानीमा कागज कारखाना सञ्चालनमा ल्याएका हुन् ।

भरतपुर महानगरपालिका ३, बेलचोकमा मुख्य कार्यालय रहेको कागज उद्योगले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी उद्योगबारे जानकारी गराएको छ । उद्योगका प्रबन्ध निर्देशक राजन पियाले भारत, चीन र स्वीडेनबाट ल्याइएका अत्याधुनिक उपकरण जडान गरी पत्रु कागजबाट प्याकेजिङमा प्रयोग हुने नयाँ कागज (क्राफ्ट पेपर) उत्पादन गरिने जानकारी दिए । 

उनका अनुसार उद्योगको उत्पादन क्षमता दैनिक एक सय २० टन रहेको छ । खेर गइरहेका पत्रु कागज सस्तो मूल्यमा विदेश निर्यात हुने गरेको र विदेशबाट क्राफ्ट पेपर स्वदेश आयात हुने गरेकोमा अब केही हदसम्म आयात प्रतिस्थापन हुने उनको दाबी छ ।

नेपालमा क्राफ्ट पेपर उत्पादन गर्ने उद्योग क्वालिटीसमेत पाँच वटा पुगेका छन् । तीमध्ये भैरहवामा रहेको एउटा कागज उद्योग हाल बन्द अवस्थामा छ । विराटनगरमा दुई र वीरगञ्जमा एक वटा उद्योग सञ्चालनमा रहेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ता बताउँछन् । नेपालमा प्रतिमहिना एक हजार टन क्राफ्ट पेपर भारतबाट आयात हुँदै आएको छ । 

क्वालिटी कागज उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले क्राफ्ट पेपरबाहेक यस उद्योगबाट चार महिनापछि सेतो कागज र न्यूजप्रिन्ट दैनिक ७० टन उत्पादन गर्ने लक्ष्य लिइएको बताए । अहिलेलाई माग अनुसार रोल र सिट दुवैखाले क्राफ्ट पेपर उत्पादन सुरु गरिएको छ । उद्योग सञ्चालनमा आएपछि अब पत्रु कागज निर्यात र क्राफ्ट पेपरको आयात केही हदसम्म कम हुने श्रेष्ठ बताउँछन् ।

एक सय २० टन कागज उत्पादनका लागि एक सय ५० टन पत्रु कागज आवश्यक पर्ने उद्योगले जनाएको छ । उद्योगका प्रबन्ध निर्देशक राजन पिया खेर गइरहेको पत्रु कागज पुनःप्रयोगमा ल्याएर क्राफ्ट पेपरको आयात प्रतिस्थापन गर्नु प्रमुख उद्देश्य रहेको बताउँछन् । उद्योगले एक सय ५० जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस