भरतपुर महानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै

उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन प्रमुख रेनु दाहालको आग्रह

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १४ : ५०
उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन प्रमुख रेनु दाहालको आग्रह

चितवन । चितवनको भरतपुर महानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ ।

उहाँले आज एक अपिल जारी गर्दै भन्नुभएको छ, ‘पछिल्ला दिनहरूमा भरतपुर महानगर क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको र यस्तो विषम परिस्थितिमा कोरोनाबाट डराएर होइन उच्च मनोबलकासाथ सुरक्षा सजकता अपनाएर मात्र कोरोनाबाट मुक्ति पाउन सकिन्छ।

तसर्थ यसबाट जोगिन हामीले हाम्रा जीवनशैलीलाई पनि बदल्नु जरूरी छ ।’ शंकास्पद बिरामी तथा समुदायस्तरमा पीसीआर परीक्षण गर्ने, बिरामीहरुको उपचार र आइसोलेसन व्यवस्थापनको कार्यलाई तीब्रता दिइने विश्वास दिलाउँदै प्रमुख दाहालले सबै नगरवासीलाई सावधानीपूर्वक सतर्क बन्न आग्रह गर्नुभएको छ । 

प्रमुख दाहालद्वारा जारी गरिएको अपिलमा भनिएको छ–

व्यक्तिगत रूपमा पालना गर्नुपर्ने 

–सवै प्रकारका भेटघाट, भेलाहरूमा कम्तीमा २ मिटरको दुरी अनिवार्यरूपमा कायम गर्ने ।
– घरबाहिर जाँदा मास्क सर्जिकल वा ३ तहको कपडाको मास्कको अनिवार्य प्रयोग गर्ने।
– साबुन पानीले पटकपटक हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
– अनावश्यक वस्तु तथा सतहहरू नछुने।
– अनुहारको टी क्षेत्र आँखा, नाक र मुखलाई अनावश्यक रूपमा नछुने।
– खोक्दा वा हाच्छ्यू गर्दा रूमाल वा टिस्यु पेपरले नाक मुख छोप्ने, सो सम्भव नभएमा कुहिनाले मुख छोप्ने।
– प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने।
– सार्वजनिक स्थलमा जथाभावी नथुक्ने।
– सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्ने।
– ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूले सकभर जनसम्पर्कमा नआउने, आउनै परेको खण्डमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने।
–भीडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने।
– कोरोनासँग मिल्दो कुनै पनि लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
संस्थागत रूपमा पालना गर्ने गराउने
– नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्थानीय प्रशासनद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा निर्देशनहरूलाई कडाइका साथ पालन गर्ने गराउने।
– मास्क नलगाउने र जनस्वास्थ्य मापदण्डको उलङ्घन गर्ने व्यक्तिलाई तोकिए बमोजिम जरिवाना गर्ने।
– शिक्षण संस्थाहरूले शैक्षिक गतिविधि संचालन नगर्ने । बहुबैकल्पिक शिक्षण विधि अपनाउने । 
– होटल रेष्टुरेन्ट, पार्टी प्यालेसहरूमा हुने भोज, सामुहिक भेला जस्ता कार्य निषेध गर्ने।
– मानिसहरूको धेरै आवतजावत हुने सार्वजनिक क्षेत्रहरू अस्पताल, होटल, रेष्टुरेन्ट, खेलकुद, प्रशिक्षण केन्द्रहरूमा सरसफाई र सामाजिक तथा भौतिक दुरी कायम गर्ने ।    
– देश बाहिर र कोरोना प्रभावित क्षेत्रबाट आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्य व्यक्तिहरूलाई प्रवेश निषेध गर्ने।
– अनुमति प्राप्त स्थानबाट आएकाहरूलाई पनि न्यूनतम १४ दिन क्वारेन्टीनमा राख्ने र परीक्षणको व्यवस्था मिलाउने।
– कोरोना प्रभावित ठाउँ वा देशबाट आएको व्यक्तिहरूमा लक्षणहरू देखिए स्वास्थ्य संस्थामा जान सल्लाह दिने।
– केही समयको लागि राति ढ बजेदेखि विहान छ बजेसम्म हिँडडुल तथा रात्रीकालीन व्यवसायहलाई प्रतिबन्ध लगाउने ।
– महानगरपालिका भित्रका उद्योग प्रतिष्ठानहरूले बाहिरबाट कामदाररकर्मचारी ल्याई काम गराएको  पाइएकोमा आइन्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको स्वीकृती बिना गर्न गराउन नपाईने। बढी भीडभाड हुने विकास निर्माणका आयोजनाहरू तत्कालका लागि रोक्ने।
– सम्पूर्ण उद्योग प्रतिष्ठानहरूले सुरक्षा सतर्कतालाई उच्च प्राथामिकतामा राखी काम लगाउनु पर्ने।
– रिसोर्ट, होटल, स्टोर तथा मलहरूमा सामाजिक तथा भौतिक दुरी कायम गराई माक्स र सेनिटाईजरको प्रयोग अनिवार्य गर्ने गराउने ।