विष्णु पौडेल र सुवास नेम्वाङसँग दिनभर छलफल गरेर प्रधानमन्त्री ओली राती किन पुगे राष्ट्रपति भेटन ?

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ०९ : ३२
विष्णु पौडेल र सुवास नेम्वाङसँग दिनभर छलफल गरेर प्रधानमन्त्री ओली राती किन पुगे राष्ट्रपति भेटन ?

काठमाडौं । नेकपाभित्रको अन्तरसंर्घष पेचिलो बनिरहेका बेला बुधबार दुवै पक्ष आ–आफ्ना रणनीतिमा केन्द्रीत भए । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा बसेर आफु निकट महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग दिनभर गोप्य छलफल गरे । उता अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीभित्र देखा परेको विवादमा पत्रकारहरुसँगको अन्र्तक्रियामा ब्यस्त रहे । 

दुवै पक्ष आ–आफ्ना रणनीतिमा जुटेपछि बुधबार फेरि छलफल हुने भनिएको दुई अध्यक्षसहित नेम्वाङ र झलनाथ खनालको भेटवार्ता भने अन्तिम समयमा आएर स्थगित हुन पुग्यो । आज बिहान छलफल हुने भनिएपनि त्यो अहिलेसम्म टुंगो लागेको छैन् ।  ओलीसँगको हिजो दिनभरको छलफलको सार बोकेर अहिले नेम्वाङ खुमलटारमा प्रचण्डसँगको छलफलमा बसेका छन् । तर पर्दाभित्रको कुरा यो हो की फेरी ओलीले रातको समय पारेर किन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगे ? नेकपाभित्र राष्ट्रपति भण्डारी पार्टीको आन्तरिक अन्तरसंर्घषमा कही न कही जोडिएर आईरहेकी छिन् ।

प्रत्यक्ष, अप्रत्यक्ष रुपमा राष्ट्रपति नेकपाको विवादभित्र ओलीको सत्ता टिकाउन सक्रिय देखिन्छिन् । ओलीले पनि राष्ट्रपति भण्डारीलाई सबै घटनाक्रम नियमित बिफ्रिङ गर्दै आईरहेका छन् । त्यही क्रममा ओली बुधबार राती ८ बजेपछि शितल निवास पुगेर भण्डारीसँग झण्डै दुई घण्टा छलफल गरेर बाहिरिएका थिए । बालुवाटार स्रोतका अनुसार, ओली साँझ पौने १० बजेमात्र शितल निवासबाट आफ्नो निवास फर्केका थिए  । पछिल्लो राजनीतिक घटनाक्रम, तिन दिन यता जारी दुई अध्यक्षको वार्ता र दिनभर बालुवाटारमा बसेर आफुले महासचिव पौडेल र संसदीय दलका उपनेता नेम्वाङसँग गरेको छलफलका आधारमा अबको नयाँ रणनीतिमा केन्द्रीत रहेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गरेको बालुवाटार स्रोतले बतायो ।

ओलीको रणनीतिक मुभमा राष्ट्रपति भण्डारीको पनि साथ रहँदै आएको छ । उनी राष्ट्रपति पूर्वको तत्कालिन एमालेकी उपाध्यक्ष र ओली गुटको एक बलियो सदस्यका रुपमा रहेकी थिइन् । अहिले पनि उनले त्यही भूमिका राष्ट्रपति कार्यालयको बन्द खोपीभित्रैबाट सञ्चालन गरिरहेको आरोप लागिरहेको छ । भेटलाई समेत गोप्य राख्न चाहेर प्रधानमन्त्री शितल निवास जानु, त्यहाँ राष्ट्रपतिसँग झण्डै दुई घण्टा छलफल गर्नु र त्यो पनि रातको समयमा किन ? भन्ने प्रश्न नेकपाका नेताहरुले नै उठाउन थालेका छन् । पछिल्लो चरण अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले अब विधि प्रक्रियाबाटै पार्टीको बैठकमा जाने र तुरुन्त स्थायी समिति बैठकको मिति तोक्न दबाब बढाईरहेका बेला प्रधानमन्त्री ओली निक्कै दबाबमा छन् ।

रुपान्तरणको प्रयास गर्दा समेत ओलीमा त्यसको कुनै गुन्जायस नदेखिएपछि अब अध्यक्ष केपी शर्मा ओलीलाई ‘सच्याउने’ कोसिस असफल भएको निष्कर्षमा प्रचण्ड नेपाल समुह पुगेको छ । यो अवस्थामा अब पात्र बदल्ने नीतिबाट मात्र नेकपाभित्र देखा परेको समस्याको समाधान हुने निश्र्कषमा प्रचण्ड नेपाल समुह पुगेको देखिन्छ । यसकारण पनि ओली सरकार र पार्टी सत्ता दुवैमा जोगिनका लागि के उपाय अवलम्वन गर्न सकिन्छ, त्यसैका लागि पनि तयारी गरेर जानुपर्ने योजनामा देखिन्छन् । 

त्यसका लागि उनले संसद विघटन गर्ने, राष्ट्रपतिलाई शासनभार सुम्पने देखि अध्यादेश ल्याएर पार्टी विभाजन गरेर विपक्षी काँग्रेस लगायतलाई साथ लिएर आफै सरकारको नेतृत्वमा टिकिरहने सम्मका अनेक विकल्पमा ओलीका रणनीतिक मुभ देखिन्छन् । त्यसका लागि उनले के गर्दा आफुलाई सहज हुन्छ, त्यही अनुसार नै अगाडी बढने योजना राष्ट्रपति भण्डारीसँग बसेर गर्ने गरेका छन् । 

भण्डारीलाई भेट गर्न जानु अगाडी बालुवाटारमा उनले महासचिव पौडेल र नेम्वाङसँग गरेको छलफल पनि निक्कै अर्थपूर्ण छ । महासचिव पौडेल बाहिरी मोर्चा र नेम्वाङ भित्री वार्तामा अहिले ओलीले परिचालन गर्दै आएका पात्र हुन् । आफ्नो रणनीतिक योजनामा ओलीले नेम्वाङ र पौडेल दुवैलाई उत्तिकै महत्व दिएर परिचालन गरिरहेका छन् । त्यही क्रममा उनले बुधबार दिनभर बालुवाटारमा यी दुई नेतासँग छलफल गरेर राष्ट्रपति निवासमा पुग्नुभित्र कुनै न कुनै भित्री मक्सद लुकेको हुनसक्ने आकलन गरिएको छ । तर त्यसको पटाक्षेप भने भईसकेको छैन् । 
 

प्रतिक्रिया दिनुहोस