– दुर्गा देवकोटा
कैलाली । विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।
भारत लगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा बस्दा केही न केही सीप सिकेर आएका छन् । उनीहरूले विदेशमा बस्दा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाइरहेका छन् । टीकापुर नगरपालिका–४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच बनाएका छन् । “स्थानीय सरकारले सहयोग गरे यहीँ केही पेशा गर्ने योजना छ”, चौधरी भन्छन् , “मैले विदेशमा सिकेको कामलाई यहाँ व्यवसायका रूपमा गर्न चाहन्छु । सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।”
टीकापुर–५ मनिकापुरका मीनबहादुर साउद पनि ६ वर्ष दुबईमा बसेर घर फर्किएका छन् । उनी पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा छन् । “मैले दुबईमा स्का फोल्डिङको काम सिकेर आएको छु”, साउदले भने, “सरकारले केही काम दिएको भए हुन्थ्यो । यही काम गरेर जीविका चलाउन हुन्थ्यो ।”
वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्किएका छन् । उनले त्यहाँ बस्दा प्राविधिक सहयोगीको काम गर्थे । उनले हाउस किपिङको काम पनि सिकेका छन् । कोरोना महामारीको अप्ठ्यारोमा गाउँ फर्किएका राजवंशी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउँछन् । “सवारी साधन चलाउने, मर्मत गर्ने सबै काम जानेको छु”, राजवंशी भन्छन् , “म हाउस किपिङको तालिम दिने काम पनि गर्छु, अब यही गर्न पाए किन भारत फर्कनु ?”
टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि ५० लाख रकम विनियोजन गरेको छ । “कोभिड–१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउनेछौँ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, “स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।”
नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने र नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताए । टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० साउन २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने
वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
एक वर्षमा झण्डै १२ हजार जना वैदेशिक रोजगारीमा
कामदार मागपत्र प्रमाणीकरण अब अनलाइनमार्फत
वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै