प्रदेश २ : ३ जना बेपत्ता, ८४५  विस्थापित, दर्जनौँ गाउँ डुबानमा

रासस

बुधबार, ०७ साउन २०७७, १७ : ५३
प्रदेश २ : ३ जना बेपत्ता, ८४५  विस्थापित, दर्जनौँ गाउँ डुबानमा

वीरगञ्ज । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 

बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया सुकमानी थिङ बेपत्ता भएकी छन् । मङ्गलबार बिहान सो खोलामा पौडी खेल्न भएका थिङलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

यसैगरी महोत्तरीको रातु नदी पार गर्न खोज्दा भङ्गाहा नगरपालिका – ६ सङ्ग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापरलाई बगाएको छ ।  यसैगरी नाम खुल्न नसकेका सर्लाहीका एक जना पौडी खेल्न गएकामा उनी पनि बेपत्ता छन् । 

यस्तै सर्लाहीमा वाग्मती नदीले बगाउँदा दुई जनाको उद्धार गरिएको छ । वाग्मती नगरपालिका–१२ स्थित उक्त नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ । नदीमा दाउरा टिप्न गएका स्थानीयवासी २४ वर्षीय डेटमान गोले र १६ वर्षीय नीरज तितङ खोलाको मध्य भागमा फसेकामा प्रहरीले सकुशल उद्धार गरेको थियो ।

 अविरल वर्षा र बाढीका कारण प्रदेश २ का विभिन्न जिल्लाका ६९ परिवारका मानिस विस्थापित भएको प्रदेश कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रले राससलाई बताउनुभयो । अविरल वर्षा र बाढीको कहरबाट मध्य तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

बङ्गरी, दूधौरा खोलामा आएको बाढीले प्रसौनी गाउँपालिका–५ र ६ को करीब ३५० बिघा क्षेत्रफलमा लगाइएको धानबाली कटान गर्दा करोडाँैको क्षति भएको छ ।  पसहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका–२१ को भोडहा र  सोनरनिया, खम्बा क्षेत्रमा लगाइएको  सय बिघाभन्दा बढी धानबाली नष्ट गरेको छ । 

यसैगरी अविरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ । बाढी र वर्षाले पश्चिमी पर्साका अधिकांश गाउँपालिकाको एकअर्को गाउँपालिकासँग सम्पर्क बिच्छेद भएको छ । हिलाम्य सडकका कारण मानिस तथा सवारी साधनको आवतजावत प्रभावित भएको छ । 

पर्साको सिङ्गाही नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ ।  तीन दिनदेखि परेको वर्षाका कारण पश्चिमी पर्साका दर्जनौँ गाउँ डुबानमा परेको छ ।