चितवनका विभिन्न स्थानमा भारी वर्षा

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, १२ : ०७
चितवनका विभिन्न स्थानमा भारी वर्षा

चितवन । चितवनका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण बाढी र डुबानको समस्या देखिएको छ । भरतपुर महानगरपालिका १० मा पर्ने स्याउली बजारमा भलले गर्दा केही घण्टासम्म बाटो बन्द भएको थियो । हाकिम चोकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यालयतर्फ जाने बाटो जलमग्न भएको थियो ।

बाटो किनारका घर र पसलहरुमा पनि भेलबाढी पसेको थियो । सडकमा आउ–जाउ बन्द भएको थियो । अहिले भने त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार कालिका नगरपालिकाको बुई खोला किनारका केही झुप्रा घरहरुमा पनि बाढी पसेको थियो । तर त्यहाँ जोखिम नरहेको र कसैलाई पनि स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।