जुम्ल्याहा हात्तीको तस्विर राखिएको एक हजारको नयाँ नोट बजारमा

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १३ : २८
जुम्ल्याहा हात्तीको तस्विर राखिएको एक हजारको नयाँ नोट बजारमा

काठमाडौं । जुम्ल्याहा हात्तीको तस्विर राखिएको एक हजार रुपैयाँको नयाँ नोट बजारमा पठाइएको छ ।

नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको हो ।राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । 

तत्कालीन गभर्नर डा। चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।

देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।

प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् । यसअघिको हजारको नोटमा भएको हात्तीको फोटो कहाँको हो र कसले खिचेको हो भन्ने कसैलाई जानकारी छैन ।

यस्ता छन् सुरक्षा विशेषताहरु

पानीछाप (वाटरमार्क)  :  नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइट (टर्च लाइटर मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभइ नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।

नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागो : सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’

भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

प्रतिक्रिया दिनुहोस