कोरोना भाइरस (कोभिड–१९)

कोरोना भाइरसको कीर्तिमान : विश्वभर एकैदिन अढाई लाख संक्रमित

सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा

एजेन्सी

आइतबार, ०४ साउन २०७७, १३ : ०८
कोरोना भाइरसको कीर्तिमान : विश्वभर एकैदिन अढाई लाख संक्रमित

सांकेतिक तस्विर

एजेन्सी । कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ ।

करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन् ।

एकैदिनमा संसारभरि मारिनेहरूको सङ्ख्या ७ हजार ३ सय ६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो । शनिबार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

संसारभरि कोभिड १९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या छ लाख नाघेको छ । त्यसको एक चौथाइ अमेरिकाका छन् । अमेरिकाका कैयन् राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

खासगरि सुरुमै कडा लकडाउन लागु गर्न तथा मास्क लगाउन आदेश दिन हिच्किचाएका दक्षिणी राज्यहरूमा अहिले धेरै सङ्क्रमण फैलिएको छ । फ्लोरिडा, एरिजोना तथा टेक्ससमा धेरै बढेको छ। हाल फ्लोरिडा अमेरिकाभित्र सङ्क्रमणको केन्द्रविन्दु बनेको छ।

त्यहाँ शनिबार एकैदिन दस हजारभन्दा धेरै थप सङ्क्रमित पाइएका थिए । त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या सवा तीन लाख नाघेको छ भने ज्यान गुमाउने सङ्ख्या पाँच हजारभन्दा धेरै छ । त्यहाँका अस्पतालहरूले उनीहरूको सघन उपचार कक्ष उच्च क्षमतामा चलिरहेको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस