पोखरीमा जाल हान्दै विभागीय जिम्मेवारी

विहीबार, १७ फागुन २०७४, १० : ५९

महेन्द्रनगर, धनुषा । नवनियुक्त प्रदेश २ का कृषिमन्त्री शैलेन्द्र साहले बुधबार शपथ ग्रहणपश्चात् जनकपुरधामस्थित पोखरीमा जाल हान्दै सांकेतिक रुपमा आफ्नो विभागीय जिम्मेवारी शुरु गरेको जनाउनु भएको छ ।

मिथिलाञ्चल क्षेत्रमा माछालाई शुभ संकेत तथा सगुनका रुपमा लिने भएको हुँदा कृषिमन्त्री साहले आफूले पोखरीमा जाल हानेर कामको थालनी गरेको संकेत दिनुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेश २ कृषिमा आधारित भएकाले कृषिलाई राम्रो बनाउन सदैव तयार रहन्छु ।” उहाँले प्रदेशको प्रमुख आय कृषि र रेमिट्यान्स भएको भन्दै दुवै पेशालाई सम्मानित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहने बताउनुभयो ।

नेपाली काँग्रेसबाट राजनीतिक यात्रा थालनी गर्नुभएका साह संघीय समाजवादी फोरम नेपालका संस्थापक सदस्य मध्येका एक मानिनुहुन्छ । प्रदेशसभामा सप्तरी २ को ‘क’बाट निर्वाचित साहको पृष्ठभूमि पत्रकारिता रहेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस