उद्योग र कृषिलाई पहिलो प्राथमिकता राख्न उद्योगमन्त्रीको जोड

बुधबार, १६ फागुन २०७४, १९ : ४७
उद्योग र कृषिलाई पहिलो प्राथमिकता राख्न  उद्योगमन्त्रीको जोड

सिरहा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले राज्यको स्वामित्वमा रहेका उद्योगहरु अझैपनि कर्मचारी र निश्चित नेताहरुको चंगुलमा रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सिरहाको मिर्चैया नगारपालिकाले बुधबार आयोजना गरेको सम्मान तथा होली शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैं मन्त्री यादवले उक्त कुरामा जोड दिएका हुन् ।  सरकारी स्वामित्वमा रहेका उद्योगधन्दाहरु कर्मचारी र नेताहरुलाई तलब–भत्ता ख्वाउने संस्थाको रुपमा सिमित भएको भन्दै त्यसलाई नयाँ ढंगले संचालन गर्नुपर्नेमा उनले जोड दिए ।  

मन्त्री यादवले भने,‘आफ्नै मूलुकमा आर्थिक समृद्धिका सम्भावनाहरु हुँदाहुँदै पनि धेरै सामाग्रीहरु आयातित गर्नुपर्ने अबस्था अन्त्यको लागि यही रहेका खानीहरुको उत्खनन् गर्नु आवश्यकता छ’ यादवले भने, ‘मुलुकलाई समृद्ध बनाउन आफ्नै मुलुकमा रहेको फलाम, तामा खानीहरुको उत्खनन् गर्नु र कृषि उत्पादनलाई विशेष जोड दिनुपर्छ, यो सरकारको पहिलो प्राथमिकतामा छ ।’

अर्को एक प्रसंगमा मन्त्री यादवले मधेसीहरुमाथि राज्यले अझै पनि दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै आएको भन्दै यसको लागि संविधानको उचित कार्यान्वयन हुनु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सभासद जगतप्रसाद यादव र भरत साहको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस