मन्त्रिपरिषद बैठकः नेपाल विकासशील राष्ट्रमा जान सक्ने अवस्था छैन

बुधबार, १६ फागुन २०७४, १८ : ५२
मन्त्रिपरिषद बैठकः नेपाल विकासशील राष्ट्रमा जान सक्ने अवस्था छैन

काठमाडौं । सरकारले सन् २०२१ सम्म विकासशील राष्ट्रमा जान सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।  बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सन् २०२१ भन्दा अघि विकासशील राष्ट्रमा जानसक्ने अवस्था नरहेको प्रष्टयाउँदै सोही अनुसारको जानकारी राष्ट्रसंघलाई गराउन परराष्ट्र मन्त्रालयलाई स्विकृति प्रदान गरेको हो ।

अल्पविकसित मुलुकको स्तरबाट विकासशील राष्ट्रमा लैजान नेपाललाई आर्थिक तथा मानव सम्पत्तिको जोखिम अझै कायमै रहेकाले सोही अनुसारको पत्राचार संयुक्त राष्ट्रसंघलाई गर्ने प्रस्ताब बैठकले स्वीकृत गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले आर्थिक जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय समुदायसँग सहयोग लिनुपर्ने आवश्यक्ता भएको प्रष्टयाउँदै तत्काल विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्भावना नरहेको प्रष्टयाएको हो । सरकारले सन् २०२१ पछि मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयुक्त हुने निष्कर्ष समेत निकालेको छ ।

तत्काल विकासशील मुलुकमा गए नेपालले अल्पविकसित मुलुकको रुपमा पाउँदै आएको सेवा र सुविधा कटौती हुनेछ । त्यसैगरी नेपालसँग तत्काल विकासशील राष्ट्र बन्ने मुख्य आधार प्रतिव्यक्ति आयको मापदण्ड पनि पुगेको छैन । 

प्रतिक्रिया दिनुहोस