केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट र उत्तेजित छन् : गृहमन्त्री बादल

बुधबार, १६ फागुन २०७४, १७ : ०६
केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट र उत्तेजित छन्  : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन नेपाल प्रहरी हेड्क्वाटर पुगेका छन् । बुधवार विहान प्रहरी प्रधान कार्यालयमा पुगेका गृहमन्त्री थापाले प्रहरीको सरुवा ब्यवस्थापनलाई प्रभावकारी बनाईने बताए । ‘अब अवधी पुगेका प्रहरी कर्मचारीको बढुवा तत्काल गरिन्छ, प्रहरी ऐन र नियमावलीमा भएका असान्र्दभिक कुराहरुलाई परिवर्तन गरेर समय–सापेक्ष ऐन नियमावली तर्जुमा गरिने छ ।’

मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै प्रहरीको काँधमा सुशासनको जिम्मेवारी आएको उल्लेख गर्दै गृहमन्त्री बादलले भने, ‘विकासको ढोका खुलेको छ, विकासका लागि सुशासन अनिवार्य भएको हुनाले प्रहरीको जिम्मेवारी थपिएको मलाई महसुस भएको छ ।’

‘शान्तिको समस्या अझै हल हुन सकेको छैन, देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन्’ गृहमन्त्री बादलले भने, ‘केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट र उत्तेजित छन् ।’

विप्लव माओवादी प्रति लक्षित गर्दै गृहमन्त्रीले थापाले हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेको बताएका छन् ।
‘नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्छ, नयाँ स्तरबाट सुरक्षा संयन्त्रलाई पुनर्सरचित गर्नुपर्छ ।’

विप्लव माओवादी लाई संकेत गर्दै गृहमन्त्री थापाले उनीहरु कस्ता अपराधी हुन भन्नेबारे स्पष्ट भएर सरकारले कदम अगाडि बढाउने बताए ।
उनले भने, ‘तिनीहरु राजनीतिक शक्ति हुन् या होईनन् भन्ने चिनेर कदम चाल्नुपर्छ ।’ भूमिगत अर्थतन्त्र र माफिया अर्थतन्त्रले विकासमा ठुलो बाधा पारेको उल्लेख गर्दै मन्त्री थापाले भने, ‘भ्रष्टाचार ठुलो शत्रु हो ।’

प्रतिक्रिया दिनुहोस