सभापति देउवाले दिए काँग्रेस संसदीय दलको नेतामा उम्मेदवारी

बुधबार, १६ फागुन २०७४, १६ : ०२
सभापति देउवाले दिए काँग्रेस संसदीय दलको नेतामा उम्मेदवारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेका छन् ।  सभापति देउवाले बुधबार पार्टी संसदीय दलको नेतामा आफू उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् । पार्टीका महामन्त्री डा.शशांक कोइरालाले होलीको अवसर पारेर काठमाडौंको टोखास्थित आफ्नै निवासमा आयोजना गर्नु भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सञ्चारकर्मीमाझ आफूले संसदीय दलको नेतामा उम्मेदवारी दिने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

उनले सभापति भएकाले दलको नेतामा आफ्नो उम्मेदवारी स्वभाविकै हुने तर्क पनि गरे । यता, दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसकेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई हराउने दावी गरेका छन्  । उनले देउवा पार्टी र सरकार दुवैको नेतृत्व गर्न पूर्णत असफल भएकाले पनि पार्टीले आफूलाई संसदीय दलको नेतामा विजयी गराउने तर्क समेत गरेका । पूर्व महामन्त्री सिंहले देउवालाई पुनः संसदीय दलको नेता बनाए पार्टीलाई हित नहुने बताइरहेका छन् ।

सिंहलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि समर्थन छ । बरिष्ठ नेता पौडेलले आफूले सभापति देउवालाई दलको नेतामा उम्मेदवारी नदिन पटक–पटक आग्रह गर्दै आएको स्मरण गराए । उनले देउवालाई संसदीय दलको नेता बनाउँदा राम्रो सन्देश नजाने भएकाले सर्वसम्मत ढंगले चयन होस भन्ने पक्षमा आफूहरु रहेको पनि स्पष्ट पारे ।

महामन्त्री कोइरालाले पार्टी संकटमा परेका बेला संसदीय दलको नेताका लागि चुनावी प्रतिष्पर्धा गर्न नहुने धारणा राखे । उनले सर्वसम्मतिमै दलको नेता चयन गर्न आफूले अन्तिम समयसम्म पनि पहल गर्ने बताए ।
आगामी सोमबार काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । महामन्त्री कोइरालाले सर्वसम्मति भए आफू दलको नेता बन्ने चाहना व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस