खानेपानी आयोजनाले सदरमुकामवासी हर्षित

बुधबार, १६ फागुन २०७४, १५ : २८
खानेपानी आयोजनाले सदरमुकामवासी हर्षित

रोल्पा । उचित व्यवस्थापन हुन नसक्दा खानेपानीको समस्या खेप्दै आएका सदरमुकामवासी बृहत् खानेपानी आयोजना शुरु भएपछि हर्षित भएका छन् । रोल्पा सदरमुकाम लिवाङमा साना शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना शुरु भएसँगै सदरमुकामवासी खुशी भएका हुन् ।

सदरमुकाम लिवाङभित्र पर्ने रोल्पा नगरपालिका–१, २, ४, ६ र ७ मा सञ्चालन गर्ने गरी प्रस्ताव गरिएको सो आयोजनाको लागत बजेट करिब रु ३८ करोड रहेको बताइएको छ । हरेक घरमा सुरक्षित खानेपानीको धारा, सार्वजनिक शौचालय तथा अन्य सरसफाइ सुविधा उपलब्ध हुने सो परियोजनाबाट नगर क्षेत्रका दुई हजारभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ ।

आयोजनाका लागि हाल प्रारम्भिक सर्वे डिजाइन गरिएको र निकट भविष्यमा उपभोक्ताबाट उठाउनुपर्ने पाँच प्रतिशत शुल्क संकलन सँगै आयोजना अगाडि बढाइने सो आयोजना व्यवस्थापन गरिरहेको लिवाङ बजार खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिनुभयो । लिवाङ बजार क्षेत्रका लागि आगामी ५० वर्षसम्म पुग्ने गरी खानेपानी व्यवस्थापन गर्न लागिएको आचार्यले बताउनुभयो ।

सदरमुकामका लागि खानेपानी स्रोतको अभाव नरहे पनि व्यवस्थापनमा निकै कठिनाइ हँुदै आएकोमा परियोजना निर्माणपश्चात् सोे समस्या हल हुने उपभोक्ता दीनमणि भण्डारीले आशा व्यक्त गर्नुभयो ।

खानेपानीका संरचना पुराना हुनाका साथै वितरण लाइनसमेत व्यवस्थित नभएका कारण खानेपानी उपभोगमा समस्या हँुदै आएको भण्डारीले बताउनुभयो । आयोजना लागू भएसँगै जिल्ला सदरमुकामको खानेपानी र सरसफाइमा आमूल परिवर्तन आउने जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो ।

शुद्धीकरण गरिएको सुरक्षित खानेपानीको उपलब्धता हुनाका साथै वातावरणीय सरसफाइका लागिसमेत आयोजना सहयोगी हुने न्यौपानेले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस